Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरित भएको एकता स्वीर्कान सकेनौं: जनार्दन शर्मा


299
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग, भावना विपरित माओवादी केन्द्र र एकीकृत समाजबादीबीच हुन लागेको एकतालाई स्वीर्कान नसकेको बताउनुभएको छ।

ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगत केही वर्षदेखि माओवादी पार्टीलाई रुपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा, जनतातिर जवाफदेही हुने, विधिपद्धति लागू गर्ने र पार्टीलाई समग्र रुपले पुनःगठन गरेर अगाडी बढ्नेगरि आफू लागेको भएपनि सफल हुन नसकेको बताउनुभयो । उहाँले नेतातन्त्र र भ्रष्टाचार विरोधी जगमा जेनजी विद्रोह भएकोले यसलाई स्वीकार गर्दै पार्टीलाई रुपान्तरण गर्ने कोशिसहरु पार्टीभित्र असफल भएको उहाँको भनाइ छ।

नेता शर्माले माओवादीका संयाेजक पुष्पकमल दाहालले भ्रष्टाचारको मुद्दा लागेका एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताको नाटक गरेर पार्टीलाई अझ भद्रगोल, विधिविहीन बनाएको आरोप लगाउनुभयो । सीमित एक वा दुई नेताहरुको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्नेगरी एकताको नाटक गरिएको उहाँले बताउनुभएकाे छ।

नेता शर्माले एकताका नाममा आमजनता, मतदाता र कार्यकर्तालाई भ्रमित पार्दै घृणा फैलाउने प्रयासहरु भइरहेको बताउनुभयो । प्रगतिशील अभियान नेपाल सञ्चालन गर्ने घोषणा समेत उहाँले गर्नुभएकाे छ। जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार विरोधी माग र भावना विपरित भइरहेको एकताप्रति सहमत नभएर आफूहरुले नयाँ अभियान सञ्चालनको थालनी गरेको उहाँले बताउनुभयो ।

नेता शर्माले प्रगतिशील अभियान नेपाल संचालन गर्ने बताउनुभएकाे छ। राष्ट्रलाई माया गर्ने, देशलाई समृद्धि गर्न चाहने, सुशासन कायम गर्न चाहने, पारदर्शीलाई आत्मसात गर्ने, उत्पिडित वर्गा, जाती, क्षेत्र, लिङ्ग र समुदायका समस्याप्रति प्रतिवद्ध भएको अभियान संचालन गर्न लागिएको उहाँले बताउनुभयाे । अभियानले विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने उहाँकाे भनाइ छ।

नेता शर्माले शहीद बेपत्ताहरुको सपनालाई पूरा गर्ने, उनीहरुका परिवारजनका आशा र विश्वासहरु-घाइते योद्धाहरुका अपेक्षाहरु पूरा गर्नेगरी लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयाे ।