Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने


208
Shares

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार (आज) कतारको दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’को उद्घाटन सत्र तथा उच्चस्तरीय प्लेनरी बैठकलाई सम्बोधन गर्दैछन्।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निम्तोमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल सोमबार दोहा पुगिसकेका छन्।आजदेखि जारी सम्मेलन बिहिबारसम्म चल्नेछ।

संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार ३० वर्षपछि आयोजना हुन लागेको यो सम्मेलनले कोपनहेगन घोषणापत्रलाई नवीकरण गर्दै विकास असमानता, जनसङ्ख्या असन्तुलन, प्रविधिको सामाजिक प्रभाव तथा गरिबी निवारण, रोजगारी र समावेशीतामा नयाँ प्रतिबद्धता जाहेर गर्नेछ।

सम्बोधनपछि राष्ट्रपति पौडेलले कतारका अमिर, राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेस तथा अन्य विश्व नेतासँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। नेपाल हाल राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (इकोसोक) को अध्यक्ष रहेकाले सम्मेलनमा नेपालको सहभागिता विशेष अर्थपूर्ण छ।

सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलो सम्मेलन भएको थियो। यसपटक कतारले आयोजना गरेको सम्मेलनले दिगो विकास लक्ष्यहरूमा गति दिने अपेक्षा गरिएको छ। राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम छ।