Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


७ वटै प्रदेशका मुख्यमन्त्रीको प्रधानमन्त्री कार्की समक्ष ब्रिफिङः ‘निर्वाचनको वातावरण बनिसकेको छैन, सहयोगका लागि तयार छौं’


273
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी र समन्वयका विषयमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्नुभएको छ।

अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा प्रधानमन्त्री कार्कीले आइतबार सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल अत्यन्तै प्रभावकारी र सकारात्मक रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयो ।

उहाँका अनुसार सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेशस्तरमा रहेको शान्ति सुव्यवस्था लगायत विषयमा प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेका थिए । आगामी निर्वाचन, सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका विषयमा संघीय तथा प्रदेश सरकारबीच कसरी प्रभावकारी समन्वय गर्न सकिन्छ रु भन्ने विषयमा गम्भीर छलफल भएको सञ्चारमन्त्री खरेलको भनाइ छ ।

मन्त्री खरेलले सबै तहका सरकार मिलेर आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आ–आफ्नो भूमिका प्रभावकारी बनाउने सहमति बैठकमा भएको पनि बताउनुभयो । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले अन्तरिम सरकारले संघीयताको मर्म र भावना अनुसार समन्वय नगरेकोप्रति आपत्ति जनाउनुभयो । उहाँले अगामी फागुन २१ गते निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण निर्माण भइनसकेको बारेमा प्रधानमन्त्री कार्कीसँग सरोकार राखेको पनि बताउनुभएकाे छ। निर्वाचनको वातावरण बनाउन सरकारले सुरक्षाको अनुभूति र सुरक्षा निकायको मनोबल बढाउनुको विकल्प नरहेको भन्ने सुझाव दिएको पनि उहाँले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रधानमन्त्री कार्कीसँग अगामी निर्वाचन र प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरेर अगाडि जाने विषयमा छलफल भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री कार्की संघीयता र अगामी निर्वाचनको बारेमा अत्यन्त सकारात्मक देखिएको पनि बताउनुभएकाे छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम भइनसकेको अवस्थामा निर्वाचन हुन नसक्ने उल्लेख गर्दै निर्वाचनको वातावरण गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेको बताउनुभयो । प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सहयोग गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेको र सोही कुरामा सहमति भएको बताउनुभएकाे छ।

प्रधानमन्त्री सुकार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा सबै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको हो । यसअघि उहाँले सबै राजनीतिक दल र जेनजी प्रतिनिधिहरुसँग समेत छलफल गरिसक्नुभएकाे छ।