Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


आगामी फागुन २१ गते नै निर्वाचन हुनेमा कुनै शंका नगर्न प्रधानमन्त्री कार्कीको आग्रह

जेनजी युवासहित नयाँ दल निर्वाचनबाट शक्तिशाली बन्ने आंकलन

0
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते नै निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले निर्वाचनका आयोगदेखि सुरक्षा निकाय समेतले तयारी गरिरहेको ब्रिफिङ् गरेको दावी समेत गर्नुभएको हाे। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पादकहरुसँगको अन्तरक्रियामा उहाँले अहिलेको सरकारले निर्वाचन र सुशासन दुवै पक्षमा ध्यान दिएर काम गरिरहेको बताउनुभयो।

निर्वाचन आयोगमा प्रमुख आयुक्त नियुक्तिदेखि आयुक्तहरु थप्ने तयारी भइरहेको बताउदै उहाँले आयोगले निर्वाचन गराउनका लागि १ सय २० वटा सामग्री चाहिने मध्ये ९० वटा अहिले नै रहेको र अरु पनि देशबाटै जोहो गर्ने बताएको जानकारी गराउनुभयाे । सुरुवाती दिनमा अन्तरिम संविधानदेखि निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्मका माग उठेको बताउदै उहाँले अहिले राजनीतिक दल र जेनजी समूहहरु निर्वाचन हुनुपर्नेमा एक ठाउँमा आएको दावी गर्नुभएकाे छ।

प्रधानमन्त्री कार्कीले सरकार दल र जेनजीबीच सहजकर्ताको भूमिकामा रहेको भन्दै सरकारले दिने शान्ति सुरक्षा र निष्पक्षतामा शंका नगर्न पनि दलहरुलाई आग्रह गर्नुभयो । प्रधानमन्त्रीसँगको अन्तरक्रियामा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उर्जामन्त्री कुलमान घिसिङ, उद्योगमन्त्री अनिल सिन्हा र संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल समेत सहभागी भएका थिए ।

के मन्त्रीहरु पनि चुनाव लड्दै हुनुहुन्छ भन्ने संचारकर्मीको प्रश्नमा प्रधानमन्त्री कार्कीले आफूहरु चुनाव लड्ने योजनामा नरहेको जवाफ दिनुभयाे । प्रधानमन्त्री कार्कीले यसो भनिरहँदा अर्थमन्त्री खनालले नलड्ने इशारा गर्नुभएको थियो भने उर्जामन्त्री घिसिङले भावविहीना प्रदर्शन गर्नुभएको थियो । गृहमन्त्री अर्याल भने हाँसिरहनुभयो । उर्जामन्त्री घिसिङले नयाँ पार्टी खोल्ने तयारी रहेको चर्चा छ।

फरक प्रसंगमा प्रधानमन्त्री कार्कीले काठमाडौंका मेयर बालेन्द्र शाहसँग ४-५ पटक भेट भएको भन्दै आफू बालुवाटार आएपछि मात्रै २ पटक भेट भएको स्वीकार गर्नुभयो । प्रधानमन्त्री कार्कीले आफूले मेयर बालेनलाई छोरो भनेर बोलाउने गरे पनि उहाँले भने दिदी भन्ने गरेको भन्दै बालेनले आफ्नो कुरा राख्ने र आफ्नो कुरा नसुन्ने गरेको गुनासो पनि गर्नुभयो । मेयर बालेनले गृहमन्त्री अर्यालको राजीनामा भने नमागेको उहाँको जिकिर थियो ।

त्यसैगरी प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनबाट व्यवसायी तथा राष्ट्र राष्ट्रियता धर्म बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई आउन सक्ने आँकलन पनि गर्नुभएकाे छ। नेकपा एमालेका अध्यक्ष ओलीको नाम नलिई उहाँले झापामा पुराना नेताको शक्तिमा ह्रास आएको बताउदै प्रसाई शक्तिमा आउन सक्ने बताउनभयो।