Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


कार्य तालिकाको विषयमा सहमति नजुटेपछि कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक स्थगित


416
Shares

काठमाडाैं । नेपाली कांग्रेसकाे कार्य तालिकाको विषयमा सहमति नजुटेपछि केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको छ।

पार्टी मुख्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको साेही बैठक बस्दै नबसी आइबारसम्मका लागि स्थगित भएको हो । केन्द्रीय कार्यालय स्रोतले सहमतिको प्रयासस्वरुप नेताहरूबीच छलफल भएपनि विवाद कायमै रहेपछि बैठक नै आइतबारसम्म स्थगित गरेकाे जनाएकाे छ।

कांग्रेसमा महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले आगामी मंसिरमा गर्ने गरी महाधिवेशनको कार्यतालिका ल्याउन आग्रह गर्दै आएका छन् । तर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले त्यो प्रस्ताव अस्वीकार गरेपछि समस्या पैदा भएको बुझिएकाे छ। संस्थापन समूहले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताइरहेको छ । विवादका कारण बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा समेत महामन्त्री थापा अनुपस्थित हुनुभएकाे थियाे ।

यसैबीच शुक्रबार पनि कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यसमिति बैठक रोकेर पदाधिकारीहरूको बैठक राख्नुभएकाे थियाे। पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको उक्त बैठकमा इतर समूहका नेता डा. शेखर समेतको सहभागिता रहेको थियो। साेही बैठकमा समेत कार्यतालिकाकाे बारेमा सहमति नभएपछि बैठक नै प्रभावित बन्न पुगेको नेताहरुले बताएका छन्।