Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


इप्पानद्वारा ऊर्जा मन्त्रालयलाई ४ थान टेलिभिजन हस्तान्तरण


286
Shares

काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयलाई ४ थान टेलिभिजन हस्तान्तरण गरेको छ।

जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरण र काठमाडौंसँग भएको सम्झौता अनुसार बिहीबार ४ थान टेलिभिजन हस्तान्तरण गरेको हो । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मन्त्रालयका सह–सचिव रुद्रसिंह तामाङलाई इप्पान उपाध्यक्ष भरत खत्री र महासचिव बलराम खतिवडाले हस्तान्तरण गर्नुभयो । टेलिभिजन ग्रहण गर्दै सह–सचिव तामाङले टेलिभिजनहरु सहायता गरेकोमा इप्पानलाई धन्यवाद दिनुभएकाे छ।

महासचिव खतिवडाले ऊर्जा मन्त्रालयले निजी क्षेत्रका लगानीकर्ताहरुको लागि सहजीकरण गर्ने थलो भएकोले आफ्नो दायित्व निर्वाह गर्ने क्रममा मन्त्रालयकै आग्रह बमोजिम सहायता गरिएको बताउनुभयो । इप्पानद्वारा हस्तान्तरण गरिएका टेलिभिजनहरु मन्त्रालयको बैठक कक्षका साथै अन्य स्थानमा राखिने भएकाे छ। जेनजी आन्दोलनको क्रममा टेलिभिजनहरु क्षति भएपछि मन्त्रालयलाई बैठक कक्षमा प्रस्तुतीकरण लगायतमा समस्या परेको थियो ।

इप्पान उपाध्यक्ष खत्रीका अनुसार, क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणको क्रममा सहरी विकास मन्त्रालयसँग समन्वय गरी क्षतिग्रस्त गृह मन्त्रालयमा रंगरोगनको कार्य अघि बढाएको छ।