Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


कांग्रेस बैठक: बहुसंख्यक केन्द्रीय सदस्य नियमित महाधिवेशनको पक्षमा

बैठकमा संसद पुनःस्थापनाको विषय पनि उठान

988
Shares

काठमाडौं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरुले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।

पार्टीभित्र नियमित महाधिवेशन वा विषेश महाधिवेशनका लागि रस्साकस्सी चलिरहेकाे समयमा पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने सदस्यहरुले नियमित महाधिवेशनमा जानु नै उपयुक्त हुने धारणा राखेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभएकाे हाे। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले केन्द्रीय सदस्यहरूले देशको राजनीतिक संकट, आगामी निर्वाचनको सुरक्षा अवस्था र पार्टी महाधिवेशनका विषयमा धारणा राखेको बताउनुभयो ।

उहाँका अनुसार केन्द्रीय सदस्यहरुले अगामी फागुन २१ गते तोकिएको निर्वाचनका लागि सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । गाउँमा शान्ती सुव्यवस्था कायम हुन नसकेको अवस्थामा निष्पक्ष, भयरहित र शान्तीपूर्ण ढंगले निर्वाचन हुनेमा आंशका रहेको उहाँको भनाइ छ । यद्यपी सरकारले निर्वाचनका लागि उचित वातावरण बनाएर चुनावका लागि सरकारलाई सघाउने धारणा समेत सदस्यहरले राखेको प्रवक्ता महतले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो,- ‘बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहनुभएको छ । देशमा एउटा संकटको परिस्थिति छ । यो परिस्थिति भन्दा माथि कसरी उठ्ने भन्ने विषयमा चासो र चिन्ता प्रकट गरिरहनुभएको छ । त्यस्तै सरकारले प्रस्ताव गरेको निर्वाचनका सम्बन्धमा अझै पनि गाउँ गाउँमा सुरक्षाको प्रत्याभूति नभएको कारणले शान्तिपूर्ण र भयरहित ढंगले निर्वाचन गर्न सकिन्छ कि सकिंदैन भन्ने विषयमा पनि साथीहरुले धारणा राख्नुभएको छ । निर्वाचनका लागि शान्ती सुरक्षाको प्रत्याभूत गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ भन्ने कुरा साथिहरुले राख्नुभएको छ । बैठकमा संसद पुर्नस्थापनाका कुराहरु पनि उठेका छन् । त्यसको सम्भावनाको बारेमा पनि साथिहरुले बोल्नुभएको छ। समग्रमा निर्वाचनको परिस्थिति बन्यो निर्वाचनमा जानुपर्छ भन्ने कुरा नै आएको छ । सँगसँगै पार्टीमा जुन महाधिवेशनको कुरा उठेको छ यसमा अधिकांश साथीहरुले नियमित महाधिवेशनमा जानुपर्ने र त्यसको लागि राष्ट्रिय निर्वाचनलाई अहिले प्राथमिकता दिनुपर्छ भन्ने कुरा गर्नुभएको छ । केही साथीहरुले चुनाव अगावै अधिवेशन गर्ने कुरा पनि गर्नुभएको छ । यीनै कुराहरु भएका छन् ।’

प्रवक्ता महतले बैठकमा संसद पुनःस्थापनाको विषय समेत उठान भएको बताउनुभयो । केही केन्द्रीय सदस्यहरुले संसद पुर्नस्थापनाको सम्भावनाकाे बारेमा समेत धारणा राखेको उहाँको भनाइ छ। शुक्रबार दिउँसो १ बजेदेखि पुन: बैठक बस्ने पनि उहाँले जानकारी गराउनुभएकाे छ। यसअघि गत असोज २८ गते शुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएकाे थियाे ।

त्यसयता उहाँको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ।