Logo ८ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025


तराई–मधेशमा आजदेखि औपचारिक रुपमा छठ पर्व शुरु


0
Shares


काठमाडाैं ।

मिथिलाञ्चलको महत्वपूर्ण छठ पर्व आजबाट सुरु भएको छ । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको हो ।

पहिलो दिन आज ‘नहाय–खाय’ मनाइँदैछ । आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ । पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वको दोस्रो दिन भोलि खरना रहेको छ ।

भोलि साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसादस्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ । तेस्रो दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अघ्र्य दिने चलन छ । अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ ।मिथिलाञ्चलमा श्रद्धा निष्ठापूर्वक मनाइने छठ पर्वका लागि जनकपुरधाम लगायत तराई मधेशका विभिन्न स्थानमा भव्य तयारी भईरहेको छ ।

यसका लागि पोखरी तथा आसपासका क्षेत्रको सरसफाई गरिएका छन् जनकपुरधामका पोखरी र घाटहरूलाई शृंगारेर पूजाको तयारी गरिएको छ । नगरभित्रका पोखरी सफाइदेखि पूजास्थल निर्माण हुनका साथै छठ पर्वका लागि पूजा सामाग्री किनमेल गर्नका लागि बजारमा समेत चहलपहल बढेको छ ।

पोखरी नै पोखरीको शहरको रुपमा रहेको जनकपुरधामका प्रमुख पोखरीमा छठ पूजाकै लागि टेन्ट र पण्डालको व्यवस्था गरिएका छन् । जनकपुरधामको गंगासागर पोखरीमा छठ पर्वको प्रमुख आकर्षण हुन्छ । यहाँ छठ पर्व मनाउन आउनेहरुको भीड पनि बढी हुन्छ ।

यस पोखरीमा गंगासागर छठ पूजा समिति, जनक युवा क्लब, बजरंग युवा कमिटीले छठ पूजाका लागि व्यस्थापन गर्दै आईरहेको छ । जनकपुरधामको गंगासागर पोखरीका अतिरिक्त धनुषसागर, अंगराज सर, दशरथ तलाउ, जानकी सरोवरलाई स्थानीय युवा क्लबहरूले सजाएका छन् ।

धनुषसागरमा गणेश युवा कमिटी र राम युवा कमिटी, अंगराज सरमा मिथिला सेवा समाज र जानकी युवा कमिटीले छठ पूजा व्यवस्थापन गरिरहेका छन् । पोखरीका डीलहरुलाई छठ पर्वका लागि तयार गरिएको छ भने श्रद्धालुहरु छठ पूजाको अन्तिम तयारीमा लागेका छन् । मूख्यतः छठ पर्व कात्तिक षष्ठीका दिन मनाउने गरिन्छ ।