
एजेन्सी । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा गएका एक जना नेपाली युवक बेपत्ता भएका छन् ।
तनहुँकाे भानु नगरपालिका–९ पिपलपानी घर भई विगत २ वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । पाण्डे गत सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भएकाे पाण्डेका साथी विदुर तामाङले जानकारी गराएका छन् । गत आइतबार राति तामाङको घरमा आएका पाण्डे साथीको फोन आयो भनेर गएका थिए । त्यसपछि पाण्डे सम्पर्कविहीन भएको तामाङले बताएका छन् ।
सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममै नगएपछि उनको खोजी गरिएको थियो । उनले ‘पाण्डे सम्पर्कविहीन भएपछि नेपालस्थित परिवारलाई सम्पर्क गरेकाे समेत बताएका छन् ।
पाण्डेले बिहान आफन्तलाई फोन गरेर केही दिन सम्पर्कमा हुन्न भनेको खबर प्राप्त भएकाे र अहिले पाण्डेकाे कसैसँग पनि सम्पर्क नभएकाे तामाङले बताएका छन् । उनले पाण्डेको खोजीका लागि रोजगारदातामार्फत मंगलबार नै स्थानीय प्रहरीलाई खबर गरिएको समेत बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्