Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै

आगामी निर्वाचनका लागि सुरक्षा रणनीति बनाउने बारेमा बैठकमा छलफल गरिंने

286
Shares

काठमाडौं । सरकारले आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा रणनीति निर्माणलाई तीव्रता दिएको छ।

सरकारले निर्वाचनलाई मुख्य राष्ट्रिय प्राथमिकतामा राख्दै सम्पूर्ण गतिविधि त्यसैमा केन्द्रित गरेको हाे। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरूको उपस्थितिमा ४ वटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतल निवासमा उच्चस्तरीय छलफल भएको थियो। छलफलमा निर्वाचनका लागि अनुकूल राजनीतिक वातावरण निर्माण र मुलुकको समग्र सुरक्षा सुदृढीकरणका उपायहरूकाे बारेमा छलफल गरिएको थियो।

साेही क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी भएको छ। उक्त समितिमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधि सहभागी हुने भएका छन्। गृह मन्त्रालयका अनुसार बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारिरहेको एकीकृत सुरक्षा योजनाको प्रगति समीक्षा गर्ने र आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिनेछ।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा उक्त समिति गठन गरिएको हो। गृहमन्त्री अर्यालले कार्यभार सम्हालेपछि समितिको गठन गर्नुभएको हो। समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्यका रूपमा रहेका छन् भने उपसचिव रवीन्द्र अधिकारी सदस्य सचिवका रूपमा रहनुभएकाे छ।

समितिले तयार पारेको सुरक्षा योजना प्रत्येक जिल्लामा कार्यान्वयनका लागि पठाइने भएकाे छ। जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन हुने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले योजनाको कार्यान्वयन जिम्मेवारी लिने समितिले जनाएकाे हाे ।