Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


विषाक्त मदिराले मलेसियामा थप एक नेपालीको मृत्यु


0
Shares

काठमाडौं, असोज ५ । विषाक्त मदिरा सेवनका कारण मलेसियामा थप एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देउराली–८, नवलपरासीका दुर्गासिंह राना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

यससँगै मलेसियाको सेलांगोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ ।

विषाक्त मदिरा सेवनबाट बसेरी, धादिङका मीमबहादुर घले, मसिना, रुपन्देहीका रामकुमार यादव, अमरगढी, डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का, इलामका बलबहादुर कुलुङ र पथ्थरकोट, सर्लाहीका आइतसिंह गोलेको मृत्यु भएको दूतावासले जनाएको छ । मृतकको शव मलेसियाका विभिन्न अस्पतालमा राखिएको छ ।

विषाक्त मदिरा सेवनबाट १७ जना गम्भीर बिरामी परेका थिए । उनीहरुमध्ये १२ को क्वालालम्पुरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने पाँचजना उपचारपश्चात् घर फर्किसकेका छन् ।

सिद्धकाली, संखुवासभाका लुंगनाथ मगर, रानीचुरी, सिन्धुलीका जीतबहादुर माझी, मैनापोखर, बर्दियाका प्रवीन थारु, महेन्द्रनगर, सुनसरीका दुर्गाबहादुर राई र राङ्सी, रोल्पाका भागीमान डाँगी उपचारपश्चात् कम्पनीमा फर्किसकेका छन् ।

दूतावासकाअनुसार रघुनाथपुर, बाराका राधेश्याम बैठा, फरेना, रुपन्देहीका रामचन्द्र लोध, च्याङ्ली, गोरखाका लोकबहादुर बराम, चोकामागु, पाँचथरका सेतवीर तुम्बाप्तो, बाबियाबिर्ता, मोरङका जम्बिरलाला झाँगड, सुङ्देल, खोटाङका चम्पावति राई, धुलिखेल, काभ्रेपलाञ्चोकका चन्द्रसिं तामाङ, ढुंग्रेखोला, सर्लाहीका रिकामान स्याङ्ताङ, ठेगाना नखुलेकी सकुवल घिसिङ, राजेशकुमार हजारी, बिमल कार्की र दातेबहादुर सारुमगरको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा विषाक्त मादकपदार्थ सेवनको अवस्थामा टाउको दुख्ने, बान्ता हुने, पखला लाग्ने, आँखा धमिलो हुने, पेट दुख्ने, रिंगटा लाग्ने र छिटोछिटो श्वासप्रश्वास बढ्नेजस्ता लक्षण देखिने जानकारी गराएको दूतावासले जनाएको छ ।

दूतावासले यस्ता लक्षण विषाक्त मदिरा सेवन गरेको २४ देखि ४८ घन्टापछिमात्र देखिनसक्ने हुँदा लक्षण देखिनेबित्तिकै नजिकको अस्पताल तथा स्वास्थ्य संस्थामा जान सूचित गरेको छ । रासस