
काठमाडाैं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोली बंगलादेशमा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्सको तयारीमा रहेकाे छ।
काभा नेसन्सबाट नेपाली टोली करिब २ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किने भएकाे हाे। नेपालले आगामी अक्टोबर २२ देखि २८ तारिखसम्म बंगलादेशको ढाकामा हुने काभा पुरुष नेसन्स कप खेल्न लागेको छ। यसको तयारीका लागि नेपाली टोलीले गत असोज २ गतेदेखि प्रशिक्षण गरिरहेको हाे।
करिब १ महिनाको तयारीबाट नेपालले ६ राष्ट्रले प्रतिष्पर्धा गर्ने काभा नेसन्स कपमा पदक जित्ने लक्ष्य राखेको छ । भरत यादवको मुख्य प्रशिक्षणमा नेपाली टोलीले राउन्ड रोबिन लिगमा हुने प्रतियोगिता उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको हाे । नेपाल भलिबल संघले लिफ्टर हरिहजुर थापालाई नेपाली राष्ट्रिय भलिबल टोलीमा कप्तानको जिम्मेवारी दिएको छ।
विभागीय टोली त्रिभुवन आर्मीबाट व्यावसायिक भलिबल खेल्दै आएका हरिहजुरले पुनः नेपाली राष्ट्रिय टोलीमा कप्तानको जिम्मेवारी पाएका हुन् । २ वर्षअघि उनले पहिलो पटक देशको कप्तानी गर्ने अवसर पाएका थिए । तर, अनुशासनहीन काम गरेपछि हरिहजुर एक महिनामै निलम्बनमा परेका थिए । त्यसपछि आर्मीकै मानबहादुर श्रेष्ठ नेपाली टोलीको कप्तानमा नियुक्त भए । तर, मानबहादुर अस्ट्रेलिया पलायन भएपछि नेपाली भलिबल टोली कप्तानविहीन थियो । कप्तानीमा फर्किएका हरिहजुरले छोटो तयारीमा राम्रो नतिजा निकाल्ने बताएका छन्।
आगामी अक्टोबर २२ देखि २८ तारिखसम्म बंगलादेशको ढाकामा हुने काभा पुरुष नेसन्स कप खेल्न लागेको नेपालले उद्घाटन खेलमा तुर्किमिनिस्तानसँग सामाना गर्ने भएकाे छ।
प्रतिक्रिया दिनुहोस्