
–शीर्ष नेता तथा पूर्वमन्त्रीहरू निगरानीमा पर्न सक्ने
–सुन तस्करहरू निशानामा
काठमाडौं ।
गृह मन्त्रालयले विगतका सरकारको संरक्षणमा रोकिएको र अवरुद्ध हुँदै आएका विभिन्न भ्रष्टाचार र अनियमिततासम्बन्धी छानबिन र अनुसन्धानलाई अघि बढाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रालयका अधिकारीहरू र प्रहरी प्रशासनको नेतृत्वलाई समेत विगतमा रोकिएका विभिन्न भ्रष्टाचार र अनियमितताका फाइलहरू सम्बन्धमा अनुसन्धान गर्न निर्देशन दिनुभएको छ ।
उहाँले विगतमा भएका र उच्च नेतृत्वकै संरक्षणमा लुकाइएका विभिन्न काण्डहरूका बारेमा छानबिन थालिएको जानकारी दिनुभयो । बिहीबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले कतिपय ठूला भ्रष्टाचार प्रकरणमा अनुसन्धान थालिएको र ठूला माछा समातिन सक्नेतर्फ संकेत गर्दै कसैलाई पनि नछोडिने स्पष्ट पार्नुभयो ।
गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलन पछि बनेको सुशीला कार्की नेतृत्वको सरकारको दुई मुख्य जिम्मेवारीमा २१ फागुनमा निर्वाचन गराउनु र मुलुकमा सुशासन कायम गर्नुरहेको छ । सोअनुसार सुशासन कायम गर्न उहाँको सरकारले विभिन्न भ्रष्टाचारको फाइलहरू खोल्नुपर्ने छ ।
सो जिम्मेवारीअनुसार गृह मन्त्रालयले ठूला भ्रष्टाचारका काण्डहरूमाथि छानबिन थालेको हो । सुन तस्कहरूमाथि निगरानी बढाइएको छ । यसै क्रममा सुन तस्करी प्रकरणमा मुछिएका माओवादी नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परी जेल चलान भइसकेका छन् ।
जेन–जीका विभिन्न समूहले पनि प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्याललाई भेटेर मुलुकमा सुशासन कायम गर्न र विगतका ठूला ठूला भ्रष्टाचारका फाइलहरूमाथि अनुुसन्धान गर्न आग्रह गर्दै आइरहेका छन् । सरकार र गृहमन्त्रालयलाई अहिले विगतका सरकारले मच्चाएका र लुकाएका ठूला ठूला काण्डहरू छानबिन गरी भ्रष्टाचारीहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने बाध्यता छ ।
गृह स्रोतका अनुसार विगतमा अनुसन्धान हुँदै गर्दा बिचैमा रोकिएको नक्कली भुटानी शरणार्थी प्रकरणको फाइलमाथि अनुसन्धान थालिएको छ । यसै गरी विभिन्न समयका सुन तस्करी काण्डलाई पनि फेरि छानबिन गर्नुपर्ने दबाब गृहमन्त्रालयलाई छ ।
गृहमन्त्रालयमा ६० केजी सुन तस्करी काण्ड, ९ केजी सुन तस्करी काण्ड, सहकारी भ्रष्टाचार काण्ड, हदबन्दी छुटको जग्गा अनियमितता काण्ड, गिरीबन्धु टि–स्टेट काण्ड, सार्वजनिक जग्गा अनियमितता काण्डलगायत अन्य विभिन्न तस्करी काण्ड छानबिन गर्ने सम्बन्धमा आवश्यक छानबिन भइरहेको छ ।
गृहमन्त्रालयका अधिकारीहरूका अनुसार केही ठूला भ्रष्टाचार काण्डमा मुछिएका नेता तथा पूर्व मन्त्रीहरूलाई निगरानीमा राखिएको छ । उनीहरूको सम्पत्तिका बारेमा समेत गोप्य रूपमा छानबिन थालिएको बताइएको छ ।
कतिपय ठूला भ्रष्टाचार प्रकरणमा अनुसन्धान थालिएको छ र अनुसन्धानलाई तीव्रता दिएर ठूला ठूला भ्रष्टाचारमा संलग्नलाई पत्ता लगाउने गरी अघि बढेका छौं । भ्रष्टाचारमा संलग्न कोही पनि उम्कन पाउँदैनन् । – ओमप्रकाश अर्याल गृहमन्त्री
प्रतिक्रिया दिनुहोस्