
काठमाडाैं । महानायक राजेश हमालले नयाँ पुस्तामा कृषिप्रतिको घट्दो चासो र ज्ञानको पुस्तान्तरणमा कमी आएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
काठमाडाैंमा बुधबार रियालिटि शो ‘र’ -रिभोलुनरी एग्रीकल्चल वार’सम्बन्धी पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले कृषि क्षेत्रको महत्वलाई पुनर्जागृत गर्न र नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्न रियालिटी शो आयोजना गर्न लागिएको पनि बताउनुभयो ।
कृषि क्षेत्रको ज्ञान र सिप पुस्तान्तरका लागि उक्त रियालिटी शो महत्वपूर्ण सावित हुने उहाँको विश्वास छ । रियालिटी शोले कृषिको महत्व, परम्परागत ज्ञान र आधुनिक प्रविधिको समिश्रणमार्फत नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गर्ने लक्ष्य राखेको उहाँको भनाइ थियाे।
उहाँले भन्नुभयो,-‘नयाँ पुस्ताको कुरा गर्दा अहिले कृषि क्षेत्र ओझेलमा परेको छ । यो विडम्वना हो । हामीले २० वर्ष अगाडि मात्रैको कुरा गर्ने हो भने हरेक नेपाली प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कृषिसँग जोडिएकै हुन्थ्यो । खेतिको कार्यहरु भइनै रहेको हुन्थ्यो । त्यो समयमा कृषिसम्बन्धी ज्ञान पनि पुस्तान्तरण हुँदै आइरहेको थियो । यसका लागि कुनै शिक्षा लिनुपर्ने पनि आवश्यकता थिएन । आज त्यस्तो छैन । अहिलेको पुस्ताले चामल र दुधको स्रोत पनि छैन । यसको पुस्तान्तरणका लागि पनि यो रियालिटी शो शुरु गर्न लागेका हौं । ’
किसान र कामको महत्व, सम्भावना र चुनौतीकाे बारेमा जानकारी गराउदै मनोरञ्जन प्रदान गरिने उक्त शो हिमालय टेलिभिजन तथा ओएसआर रियालिटी युट्युब च्यानलबाट प्रशारण हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्