
काठमाडाैं । सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाई प्रक्रिया शुरु भएसँगै ४ वटा रिट निवेदन दर्ता भएका छन् ।
सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै मंगलबार ४ वटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले बताउनुभएकाे हाे। उहाँका अनुसार ४ वटै रिटमाथि बुधबारको लागि पेशी तोकिएको छ। प्रवक्ता पाण्डेले सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटन खारेजीको अमाग गर्दै १० वटा मुद्दाहरु आएको पनि बताउनुभयो ।
यद्यपि ती मुद्दाहरु अध्ययनकै क्रममा रहेको सहायक प्रवक्ता पाण्डेको भनाइ छ । जेनजनी आन्दोलनका क्रममा आन्दोलनकारीले सर्वोच्च अदालतको भवनमा आगजनी गरेपछि सर्वोच्चको काम कारबाही प्रभावित भएको थियो। उहाँले मंगलबार सर्वोच्चमा एउटा मात्र संयुक्त इजलास बसेको बताउनुभएकाे छ। उक्त इजलास टेन्टमा नभई अदालतको भूकम्पपछि निर्माण गरिएको भवनमा बसेको थियो । तिहारपछि सर्वोच्चका सबै सेवाहरु भवनहरुबाटै शुरु गर्नेगरी तयारी भइरहेको उहाँको भनाइ थियाे।
उहाँले भन्नुभयो,- ‘आज अन्य चार किसिमका रिटहरु आएका छन् । दर्ता पनि भइसकेका छन् । बुधबारका लागि पेशी तोकिएको छ । सरकार गठन र संसद विघटन सम्बन्धीका मुद्दाहरु चाँही १० वटा आएको छ । अहिले त्यसलाई अध्ययनकै क्रममा रहेका छन् । मंगलबार एउटा संयुक्त इजलास मात्रै बस्यो । टेन्टमा नभई भवनमै इजलास बस्यो । केहीदिन हामीले टेन्टबाटै काम गरिरहेका थियौं । सर्वोच्चको पुरानो भवनमा पाँच वटा इजलास पहिलेदेखि नै बसिरहेको थियो । पाँच वटा इजलास त्यहीबाट र अन्य इजलास समेत व्यवस्थापन गरेर तिहारपछि सबै इजलासहरु भवनहरुबाटै सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’
प्रवक्ता पाण्डेले सुनुवाई स्थगित गरिएका मुद्दाहरुको सुनुवाई प्रक्रिया समेत अगाडि बढाउने प्रयास भइरहेको भन्दै न्यायका उपभोक्ताहरुलाई नआत्तिन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्