Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


भोटेकोशीमा जेनजी आन्दोलनको दबाबमा १० प्रतिशत निःशुल्क सेयर सम्झौता


2.5k
Shares

काठमाडाैं ।

जेनजीका नाममा एक समूहले मागेअनुसार भोटेकोसी जलविद्यत आयोजनाको १० प्रतिशत सेयर दिने सहमति भएको छ।

भोटेकोसी पावर कम्पनी प्राइभेट लिमिटेडले आफ्नो सेयरमध्येबाट १० प्रतिशत सेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित बासिन्दा समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेड कम्पनीलाई दिने सहमति जनाएको हो।

‘भोटेकोशी जेनजी ग्रुप’को अगुवाइमा गरिएको आन्दोलनपछि आयोजनाको काम एक महिनासम्म ठप्प भएको थियो। कम्पनीले सुरुवातमा निःशुल्क सेयर दिन नसकिने बताएको भए पनि दबाब बढेपछि आइतबार भएको सहमतिपछि आयोजनाको कार्य पुनः सञ्चालनमा आएको हो।

सम्झौताअनुसार, भोटेकोशी पावर कम्पनीले आफ्नै सेयरमध्येबाट १० प्रतिशत सेयर जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडमार्फत प्रभावित स्थानीयलाई प्रदान गर्नेछ। यसअघि स्थानीयलाई ६ प्रतिशत सेयर दिने सहमति भइसकेको थियो, जुन सम्झौता अनुसार थप ४ प्रतिशत बढाएर १० प्रतिशत पुर्‍याइएको छ।

सम्झौतापत्रमा जेनजी कम्पनीका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी पावर कम्पनीका सचिव विश्वमोहन कर्माचार्यले हस्ताक्षर गरेका छन्।