Logo २४ आश्विन २०८२, शुक्रबार | Fri Oct 10 2025


चितवनमा थपिए ९५० नयाँ मतदाता


104
Shares


चितवन ।

निर्वाचन कार्यालय चितवनमा ९५० मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आजसम्म ती मतदाता थपिएका हुन् ।

सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत सुरु गरिएको हो । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कार्यालय मर्मत गरिहँदा सोही भवनको बाहिर मतदाता नामावली सङ्कलनको काम गरिएको हो ।

कार्यालयका प्रमुख भीमसेन कार्कीले आगजनी गरिएको भवनबाहिर बसेर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पहिलाको तुलनामा निर्वाचन आयोगमा नामावली दर्ता गराउनेको सङ्ख्या बढ्दो छ ।” नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका रहेका छन् ।

 निर्वाचन आयोगको ‘अनलाइन’मा फाराम भरेपछि उक्त फारामका आधारमा जहाँसुकै गएर फोटो र ‘बायोमेट्रिक’ दिन सकिने उहाँले बताउनुभयो । कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो ।

विसं २०७९ को निर्वाचनमा चितवनमा चार लाख २१ हजार ३९२ मतदाता रहेका थिए । आगामी फागुन २१ गते हुने निर्वाचनमा चितवनका मतदाता चार लाख ५० हजारसम्म पुग्ने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो । निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।

तालिकाअनुसार मङ्सिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछन् । माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकिएको छ ।