
काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गत भदाैं २३ र २४ गते जेनजी युवाकाे आन्दाेलनका क्रममा घटेका घटनाका र त्यसपछि उत्पन्न परिस्थितिका कारण देश इतिहासमै सबै भन्दा कमजोर अवस्थामा पुगेको बताउनुभएकाे छ।
नेता भण्डारीले बुधबार राति एक विज्ञप्ति जारी गर्दै यस्ताे बताउनुभएकाे हाे । युवा पुस्ताले लोकतान्त्रिक मूल्य र मान्यतालाई थप सुदृढ बनाउने मनसायका साथ आयोजना गरेको भ्रष्टाचार विरुद्धको आन्दाेलनको मौका छोपेर मुलुक विरोधी तत्वले देशमा वितण्डा मच्चाउन पुगेका उहाँकाे भनाइ छ। आन्दाेलनको पहिलो दिन २३ गते सरकारले निर्दोष युवाहरुमाथि घोर दमन गरेकाे र दोस्रो दिन २४ गते जेनजीको शान्तिपूर्ण विद्रोहको आवरणमा अन्तर्राष्ट्रिय तत्वले मुलुकमा विध्वंश मच्चाएकाे उहाँकाे तर्क थियाे।
‘मुलुक पूर्ण रुपमा राज्य विहिन बन्न पुग्यो, एक प्रकारले ठूलो युद्ध हार्दाको जस्तो दृश्य मुलुकमा देखिन पुग्यो । यी दुवै घटनाको जति निन्दा गरे पनि कम नै हुन्छ । मुलुकमा थुप्रै विसंगति विकृति फैलदै गएका थिए, राजनीतिक दलमा लोकतान्त्रिक मूल्य पद्धति र संस्कृतिमा चरम स्खलन आएको थियो । भ्रष्टाचार र कुशासनले सीमा नाघेको थियो । लामो समयदेखि पटक पटक सत्तामा बस्ने मानिसहरुका विरुद्धमा जनस्तरमा व्यापक असन्तुष्टि, विरोध र घृणा अभिव्यक्त भएका थिए त्यसलाई सत्ताको उन्मादमा नजरअन्दाज गरियो । त्यसको परिणति यो अवस्थामा देशले भोग्नु पर्यो जारी विज्ञप्तिमा भनिएकाे छ।’
देश र जनताको वृहत्तर हितका लागि राष्ट्रवादी शक्तिहरु एकठाउँमा उभिन जरुरी रहेकाे उहाँकाे भनाइ छ । नेता भण्डारीले २०४७ सालको संविधानका मूल प्रावधानलाई यथावत राख्दै यसमा समसामयिक संशोधन गरी राष्ट्रिय एकताको जगलाई थप मजवुद बनाउन सबै राजनीतिक दल तथा राष्ट्रप्रेमी आम-नेपाली जनताहरुमा आग्रह गर्नुभयाे ।


प्रतिक्रिया दिनुहोस्