
काठमाडाैं। देशका विभिन्न भागमा आएको बाढी-पहिरो र डुबान पीडितहरुको तथ्यांक संकलन जनशक्ति अभावका कारण प्रभावित भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपदमा परेकाहरुको तथ्यांक संकलन गर्न समेत जनशक्तिको अभावका कारण समस्या आएको जनाएको हो । बुधबार काठमाडौंमा आयोजित विपदबाट प्रभावित घर परिवारलाई राहत व्यवस्थापन गर्ने सम्बन्धि छलफल कार्यक्रममा बोल्दै प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले क्षतिको वितरण ल्याउनका लागि कर्मचारीको अभाव भएको स्पष्ट पार्नुभयो ।
उहाँले धेरै मानवीय क्षति भएको इलामको विवरण समेत जनशक्तिको अभावका कारण अझै यकीन हुन नसकेको उल्लेख गर्दै कर्मचारीहरुको आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागसँग आग्रह गर्नुभएकाे छ। कार्यकारी प्रमुख भट्टले पीडितहरुलाई खाद्यान्नको अभाव हुने भएकाले त्यसको अभाव हुन नदिनका लागि तयारी अवस्थामा रहन पनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो ।
यता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव मोहनकुमार घिमिरेले सबै कर्मचारीलाई कार्यस्थलमा पुग्न निर्देशन भइसकेको जानकारी गराउनुभएको छ । उहाँले विभिन्न स्थानीय निकायबाट कर्मचारी नभएको जानकारी आफूरुलाई पनि प्राप्त भएको उल्लेख गर्दै तत्काल कार्यस्थलमा पुग्न सबैलाई निर्देशन भएको दाबी गर्नभएको हो ।
यसैबीच काठमाडौं महानगरपालिकामा नै पीडितहरु खाद्यान्नको समेत आवश्यक व्यवस्था नमिलाएको पाइएको छ । शहरी विकास तथा भवन निर्माण विभागले काठमाडौंको बल्खु सेल्टरमा पीडितहरुका लागि खाद्यन्नको अभाव भएको उल्लेख गर्दै आवश्यक प्याकेजको व्यवस्था तत्काल गर्नुपर्ने जनाएको हाे ।
विभागका वरिष्ठ इन्जिनियर प्रदीप खनालले रौतहटमा ३ हजार भन्दा बढी घर डुबानमा परेको उल्लेख गर्दै उनीहरुका लागि थप खाद्यन्नको अभाव हुने देखिएकाले यसको व्यवस्थापन गर्ने काममा ढिलाई गर्न नहुने बताउनुभयो । उहाँले झापा, वागमती किनारा र लालबकैया नदी आसपासको क्षेत्रमा पनि पीडितहरुमा खाद्यन्न आवश्यक व्यवस्था गर्नुपर्ने बताउनुभएकाे छ।
छलफलका क्रममा विद्यालयहरुमा मानवीय क्षति नभएको जानकारी गराइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शाखा अधिकृत शिवराज पोखरेलले विदाको समय भएकाले विद्यालयहरुमा मानवीय क्षति हालसम्म नभएको पाइएको बताउनुभयो । विद्यालयहरुमा धेरै ठूलो डयामेजको अवस्था नरहेको पनि तथ्यांक उहाँले प्रस्तुत गर्नुभएकाे छ।
शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार विपदमा परी बागमती प्रदेशमा मा १२ वटा, कोशी प्रदेशमा ६ वटा र मधेश प्रदेशमा ७१ वटा विद्यालयहरु सामान्य क्षति भएको छ । शाखा अधिकृत पोखरेलले इलामको भने विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्