
काठमाडौं । जेनजी आन्दोलनका शहीदका परिवारले गत भदौ २३ गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको छ ।
जिल्ला प्रहरी परिसर कार्यालय काठमाडौंले शहीदका ४ जनाको तर्फबाट जाहेरीको कार्यक्षेत्र जाँचबुझ आयोग हुने भएका कारण त्यहाँ पठाइएको जनाएकाे हो । आन्दाेलनका क्रममा अस्वभाविक बल प्रयोग गरेर दमन गरेको र १९ जनाको ज्यान जानेगरीको बल प्रयोगको घटना ‘सामूहिक हत्या’ भएको भन्दै जेनजी आन्दोलनकारीहरुले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेर प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ताको प्रयास गरेका थिए ।
प्रहरीले जाहेरी दर्ता नगरेपछि सोमबार राति परिसरको स्थिति तनावपूर्ण बनेको थियो । मंगलबार दिनैभरी पनि उनीहरुले जाहेरी दर्ता गर्न प्रयास गरेका थिए । अन्ततः प्रहरीले जाहेरी लिएर त्यसलाई कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएकाे जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्