
काठमाडौं । गत शुक्रबार र शनिबारकाे अविरल वर्षासँगै आएकाे बाढी पहिरोका कारण भैरहवामा अलपत्र परेका यात्रुहरू नेपाल वायुसेवा निगमको विशेष उद्धार उडानमार्फत काठमाडौंमा आइपुगेका छन् ।
बडा दशैं बिदा र विभिन्न कामका लागि भैरहवा पुगेका यात्रुहरू बदलिएको मौसमका कारण सडक-उडान अवरुद्ध हुँदा रोकिएका थिए। सोही कारण उनीहरूको सहजताका लागि सरकारले उद्धार उडान सञ्चालन गर्ने निर्णय गरेको थियो।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले साेमबार दिउँसो पाैने ४ बजे काठमाडौंबाट भैरहवामा अवतरण गरेको नेपाल एयरलाइन्सको न्यारो बडी ए-३२० विमानले ७६ जना यात्रु लिएर आएको जनाएकाे छ। सोही विमानले १ सय ५७ जना यात्रु बोकेर राति काठमाडौं फर्किएको हाे।
भैरहवाबाट काठमाडौं आएका एक यात्रुले सरकारको कार्य अत्यन्त प्रशंसनीय भएको बताएका छन् । सरकारले उद्धार उडानमा अशक्त, वृद्ध वृद्धा, बिरामी, वैदेशिक रोजगारीमा जानुपर्ने र अत्यावश्यक यात्रुहरूलाई प्राथमिकता दिइएको कार्यालयले जनाएकाे छ।
भाडादर काठमाडौंबाट भैरहवाका लागि ५ हजार र भैरहवाबाट काठमाडौंका लागि ७ हजार तोकिएको थियो
प्रतिक्रिया दिनुहोस्