Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


सबै तहमा भय र अनिश्चय सिर्जना: एमाले नेता बर्तौला

राजनीतिक कोर्स हाल निर्णयात्मक संकटमा परेकाे तर्क

1.2k
Shares

काठमाडाैं । नेकपा एमालेका युवा नेता महेश बर्तौलाले अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको बताउनुभएको छ ।

उहाँले आम नागरिक र राज्यका जिम्मेवारीमा रहेका कर्मचारीहरूले पनि त्रास र भय महशुस गरिरहेको बताउनुभएको हो । सरकारको चरित्र र कार्यप्रणालीबाट नागरिकहरूमा भय र अनिश्चितता हट्न नसकेको उहाँको भनइ छ । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राजनीतिक अभियन्ता, कार्यकर्ता, नेता वा शुभचिन्तकहरूले स्वतन्त्र रूपमा सत्यको वकालत गर्नुपर्ने बेला डर महशुस गर्नुपर्ने परिस्थिति बनिरहेको दावी गर्नुभयो । उहाँले दण्डहीनता फैलन नदिने र विधिको शासन कायम हुनुपर्नेमा जोड दिनुभएकाे छ। परिभाषित जिम्मेवारीअनुसार राज्यका अंगहरूले निष्पक्ष, स्वतन्त्र र सहज रूपमा काम गर्न पाउने वातावरण सरकारले निर्माण गर्नुपर्ने उहाँको भनाइ थियाे ।

 उहाँले भन्नुभयो,-‘आम मानिसभित्र राज्यका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरु पनि एउटा त्रासमा, भयमा, डरमा भएको जस्तो हामीले महशुस गरिरहेका छौं। समग्र राजनितिक अभियान्ताहरु, कार्यकर्ताहरु, नेता वा शुभचिन्तकहरु पनि आफ्ना विचारहरुलाई स्वतःस्फुर्त ढंगबाट सत्यका बारेमा सत्यको वकालत गर्नको लागी पनि कता कता डर मान्नुपर्ने, भय मान्नुपर्ने, त्यो परिस्थिति सिर्जना भइरहेको छ । यसले के देखाउँछ भन्दा सरकारको चरित्रबाट, सरकारको क्रियाकलापबाट नागरिकहरुमा, आम जनताहरुमा डर र भयबाट उहाँहरु मुक्त हुन सकिरहेको छैन । त्यसकारणले गर्दा मेरो आग्रह के हो भने यो चिजबाट मुलुकमा दण्डहीनता मौलाउन सकिंदैन, मुलुक विधिको शासनमार्फत अगाडी जान्छ । परिभाषित जिम्मेवारी जो जे हो, राज्यका अंगहरुले सोही बमोजिम आफ्ना कामहरु गर्न सक्छन्, गर्न पाउँछन्, गर्ने गर्दछन् र गर्न उसले सहज ढंगबाट, निष्पक्ष, स्वतन्त्र ढंगबाट गर्न पाउछन् भन्ने कुराको आश्वासन सरकारमार्फत हुन जरुरी छ । तर घटना क्रमले त्यो देखिरहेको छैन ।’

उहाँले अनाधिकृत व्यक्तिहरूले राज्य संयन्त्रमा खुलेआम प्रवेश गरेर निर्देशन जारी गर्नु लोकतान्त्रिक शासनका लागि अस्वीकार्य भएको बताउनुभयो । हामी नेपाल संस्था नामक एनजीओका सुदन गुरुङले पछिल्लो समय जेन-जीको नाममा सरकारी संयन्त्रलाई खुलेआम रुपमा निर्देशन दिने, महत्वपूर्ण बैठकमा प्रवेश गर्ने लगायतका कार्य गर्दै आउनुभएको छ । गुरुङले केही समयअघि नेपालको वर्तमान संविधान च्यात्ने कि जोगाउन भन्नेमा आफू दोधारमा रहेको समेत बताउनुभएको थियो ।

नेता बर्तौलाले केही भीड वा व्यक्तिले ६०-७० वर्षको बलिदानीबाट बनेको संविधान च्यात्ने कि जोगाउने भन्ने द्विविधामा पर्ने अवस्था आउन दिनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । राज्यका औपचारिक निकायहरूमा अनाधिकृत रूपले पहुँच र निर्देशन दिने घटना लोकतान्त्रिक-लोक कल्याणकारी शासनका लागि उपयुक्त नभएको उहाँले बताउनुभउकाे छ। यसमा सम्बन्धित मन्त्रालय र नेतृत्वलाई मुख्य दोषी रहेको औंल्याउँदै उहाँले त्यस्तो अनुशासनहीनता रोक्न आग्रह गर्नुभयो ।

नेतृत्वले नै कसलाई कुन तहमा भूमिका दिने, कसलाई प्रवेश गराउने र कसको निर्देशन लिने भन्ने निर्णय गर्नुपर्ने उहाँको भनाइ छ । यसमा गरेको लापरवाहीले देशलाई दिशाहीनतातर्फ लैजान सक्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो । सामाजिक सञ्जाल तथा सार्वजनिक मिडियामा देखिएका दृश्यहरूले सुरक्षा संयन्त्र र कर्मचारीहरूको मनोबलमा नकारात्मक प्रभाव परेको उहाँकाे तर्क छ। राज्यलाई असल ढंगले कसरी चलाउने र परिभाषित जिम्मेवारी के हुन्छ भन्ने कुरामा स्पष्टता हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

उहाँले भन्नुभयो,-‘एकाध मान्छेहरुलाई के लाग्छ, दुई-पाँच जना भीडहरुलाई के लाग्छ, त्यसका आधारबाट लामो, ठूलो बलिदानीबाट, ६०-७० वर्षको बलिदानबाट आएको संविधान पनि च्यातिदिउँ की जोगाईदिउँ भनेर दोधारमा पर्ने, कोही भीडले भनिदिन्छ, तीनै व्यक्तिहरु विभिन्न ढंगबाट विभिन्न ठाउँमा प्रवेश गरेको, निर्देशन दिएको । राज्यका औपचारिक संयन्त्रहरुलाई अनाधिकृत मानिसहरुले अनाधिकृत ढंगबाट प्रवेश दिएर, खुलमखुल्ला महत्व दिएर अनाधिकृत निर्देशन दिने कुरा, राज्यका सूचनाहरु माग गर्ने कुरा, के भयो के भएन भन्ने कुराको एउटा माथिल्लो तहको निकायले जस्तो तल निर्देशनहरु जारी गर्ने कुरा त्यो किमार्थ यो लोकतान्त्रिक शासन व्यवस्थामा, लोककल्याणकारी शासन व्यवस्थामा, विधिको शासन वकालत गर्ने हामीहरुको लागी त्यो उपयुक्त कुरा होइन । हामीले उपयुक्त देखिरहेका छैनौँ । यसमा मुख्य दोषी भनेको सम्बन्धित मन्त्रालय र तीनको नेतृत्व नै हो । त्यसकारणले गर्दा भीडलाई, अराजकतालाई फेरि पनि शक्ति वा सामथ्र्य हो मेरो भन्ने ढंगबाट हामी कहीँ कतै कसैले सोचेर अगाडी बढ्न चाहिरहेका छौँ भने हामी फेरि पनि मुलुकलाई एउटा दिशाहीनतातिर लैजानका लागी उद्धत छौं भन्ने कुरा हामीले बुझ्नपर्छ । हरेक सरकारको जिम्मेवारीमा रहेका राजनितिक नेतृत्वले पनि खास कसलाई कुन तहमा कसरी भुमिका दिने वा नदिने, स्पेश दिन मिल्ने हो, होइन । कसलाई कुन ठाउँसम्म प्रवेश गराउन मिल्ने हो । कसको निर्देशन लिने हो, होइन । यो कुरामा सम्बन्धित नेतृत्वले पनि ख्याल गर्नुपर्छ ।’

 नेता बर्तौलाले राज्यका अंगहरूले निष्पक्ष, भयरहित र स्वतन्त्र रूपमा जनताको सेवा गर्न पाउने वातावरण सुनिश्चित गर्नु अहिलेको सरकारको कर्तव्य र जिम्मेवारी भएको बताउनुभयो । सामाजिक पुनर्मिलन र सहिष्णुताका आधारमा देशलाई अगाडि बढाउनुपर्ने र प्रतिशोधको संस्कृति नभएर समन्वय र संवादको माध्यमबाट समाधान खोज्नुपर्नेमा उहाँले जोड दिनुभएकाे छ।

राजनीतिक कोर्स अहिले निर्णयात्मक संकटमा:

नेपालको समग्र राजनीतिक कोर्स अहिले निणायक संकटको बिन्दुमा पुगेको उहाँको भनाइ छ । वैधानिक सरकारबाट देश अन्तरिम सरकारको अवस्थामा पुगेको बताउदै उहाँले यो वर्तमान सरकार गठन प्रक्रिया नै संवैधानिक र कानूनी दृष्टिले कति उपयुक्त हो भन्ने प्रश्न उठ्ने बताउनुभयो । राजनीतिक ढंगबाट हेर्दा यो असंवैधानिक भएको उहाँको दावी छ ।

 उहाँले भन्नुभयो,-‘नेपालको समग्र राजनितिक कोर्ष एउटा निर्णायक संकटको बिन्दुमा पुगेको छ, उभिएको छ । एउटा वैधानिक सरकारबाट एउटा अन्तरिम सरकारको अवस्थाबाट मुलुक अगाडी बढिरहेको छ । यो कति वैधानिक छ, छैन ? संवैधानिक, कानूनी हिसाबले यो कति उपयुक्त छ, छैन ? संबैधानिक छ, छैन ? राजनितिक ढंगबाट हेर्दाखेरी यो असंवैधानिक होला, असंवैधानिक हामी प्रष्टसंगले भन्छौं। यसको परीक्षण हुँदै जाला ।’ 

नेपाल ठूलो आर्थिक संकटमा पर्नेसक्ने:

एमाले नेता बर्तौलाले नेपाल ठूलो आर्थिक संकटमा पर्नेसक्ने बताउनुभयो । जेनजी आन्दोलनका क्रममा भएका निजी लगानीमाथिको हमलाका कारण देशमा ठुला लगानी आउनसक्ने स्थिति कमजोर बनेको उहाँको आकलन छ । जसले बेरोजगारीको समस्या सिर्जना गर्ने उहाँले बताउनुभयो । नेपालमा विस्तारै भित्रिने लागेको ठूला विजनेस चेनहरु समेत अब रोकिने खतरा बढेको उहाँको भनाइ छ । नेपालले अन्तर्राष्ट्रियस्तरमा पनि विस्वास गुमाउँदै गएको उहाँले बताउनुभयो । जसले नेपालको आर्थिक क्षेत्रमा ठूलो असर गर्ने उहाँको तर्क छ।
उहाँले भन्नुभयो,-‘ठूलो चुनौतीमा हामी फस्दैछौं। हामीमा अब ठूला ठूला लगानी आउन सक्ने स्थिति कमजोर हुन सक्नेछ । जसले बेरोजगारीको समस्या सिर्जना गर्नेसक्ने ठूलो खतरा छ । ठूला ठूला चेन बिजनेस हामी कहाँ भित्रिदै थियो, ती क्रमशः अब रोकिने खतरा छ, बाहिरिने खतरा छ । यसले नेपालको निकै ठुलो इकोनोमिक क्राईसिसमा पनि जाने खतराहरु छ । त्यसले गर्दा अन्तर्राष्ट्रिय विश्वस्नीयताहरु नेपाल प्रतिको कमजोर हुँदै गएको अवस्था छ । विश्वमा रहेका नेपालीहरु प्रति यसले कही न कही असर पुर्याउँछ । यी समग्रताबाट हामीले सिकेर एउटा राम्रो भावका साथ मुलुकलाई अगाडी बढाउने कुरामा हामी साझा ढंगबाट अगाडी बढ्नुपर्छ ।’ 

एमाले नेता बर्तौलाले बाढी-पहिरोको समयमा सरकारले देखाएको तत्परताको भने प्रशंसा गर्नुभएको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम सम्बन्धी सूचना अनुसार सरकारले अपनाएको शतर्कताका कारण मानवीय क्षति कम भएको उहाँले बताउनुभयो ।