
काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्राकृतिक विपदपछिको पुनःनिर्माणमा एक भएर जुट्न आह्वान गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा साेमबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका नेता अग्निप्रसाद सापकोटाले पार्टीले यस्तो आह्वान गरेको बताउनुभएको हो । उहाँका अनुसार देशैभरी आएको भारी वर्षाले पुर्याएको क्षतिको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालयको बैठकमा गम्भीर समीक्षा भएको जिकिर गर्नुभयो ।
देशैभरी वर्षाबाट ठूलो जनधनको क्षति भएको र त्यसमा पनि कोशी प्रदेशमा धेरै क्षति भएकोप्रति पार्टी सचेत रहेको उहाँकाे भनाइ छ । राहत उद्धारमा संलग्न पार्टीका वाइसिएल लगायतका नेता तथा कार्यकर्ताहरु सबैलाई धन्यावाद दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,-‘देशैभरी आएको भारी वर्षाले पुर्याएको क्षतिको हाम्रो पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालयको बैठकमा गम्भीर समीक्षा भएको छ । देशभर वर्षाबाट ठूलो धनजनको क्षति भएको छ । विवरणहरु त आउँदै छन्, कति बेपत्ता भएका छन्, कति पहिरोले पुरेको छ । कति बाढीले बगाएको छ । ५५ भन्दा बढीको मृत्यु भएको खबर आएको छ । सबै भन्दा बढी एक नम्बर प्रदेशमा मृत्युको संख्या बढी छ । धनजनको क्षति पनि त्यत्तिकै छ । लोकमार्गहरु पनि अवरुद्ध छन् । भारी वर्षा मधेसमा भएको छ । तीन जनाको मृत्यु भएको छ । राहत उद्धारमा संलग्न पार्टीका वाइसिएल लगायत सबैलाई धन्यावाद दिने । पुनःनिर्माणका लागि एकजुट भएर लाग्न आह्वान गरेका छौँ । दुई दिनपछि फेरि सचिवालयको बैठक बस्नेछ । समाजवादी मोर्चालाई विस्तार गर्ने र पार्टी एकताका सम्बन्धमा पार्टी अध्यक्ष कमरेडले ब्रिफिङ गर्नुभयो ।’
नेता सापकोटाले निर्वाचनमा जाने कुरामा सबै राजनीतिक दलहरु सहमत नै रहेको बताउनुभयो । निर्वाचनबाट मात्रै अहिलेको संविधानलाई निरन्तरता दिन सकिने समेत उहाँले उल्लेख गर्नुभएकाे छ। उहाँले नेपाली कांग्रेस र नेकपा एमालेको केन्द्रीय समितिको बैठबाट पनि राजनीतिक दलहरुले आफ्नो धारणा स्पष्ट राख्ने जिकिर गर्नुभयो । अबको परिस्थितिमा विचार, संगठनलाई नयाँ शिराबाट तयार गर्नुपर्ने चुनौती आएको उहाँकाे भनाइ छ।
जसका कारणले रुपान्तरणका साथ अघि बढ्ने अवसर प्राप्त भएको पनि उहाँले जिकिर गर्नुभयो । पार्टीलाई एकतावद्ध गर्दै समाजवादी मोर्चालाई विस्तार गर्ने र विचार मिल्नेहरुसँग एकताका लागि पहल जारी राख्ने समेत उहाँले बताउनुभएकाे छ।
नेता सापकाेटाले दुई दिनपछि पुनः सचिवालय बैठक बस्ने जानकारी दिनुभयो । समाजवादी मोर्चालाई सक्रिय पार्ने, पार्टी एकताको सम्बन्धका बारेमा पनि छलफल भएको उहाँकाे भनाइ छ। विचार मिल्नेहरुसँग एकताका लागि सकारात्मक छलफल भइरहेको समेत उहाँले बताउनुभयो ।
निर्वाचनलाई सफल पार्न संसदमा भएका सबै राजनीतिक दलहरुसँग छलफल गरेको र तोकिएकै मितिमा निर्वाचन गर्न आग्रह गर्ने निर्णय भएको उहाँले बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्