Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


पेरूमा पनि जेनजी युवा भ्रष्टाचारविरूद्ध सडकमा प्रदर्शनमा उत्रिए


4.5k
Shares

एजेन्सी । दक्षिण अमेरिकी मुलुक पेरूका जेनजी युवा पुस्ताले भ्रष्टाचारविरुद्ध सडकमा प्रदर्शनमा उत्रिएकाे छ।

यहि सेप्टेम्बर २७ तारिखमा राजधानी लिमामा हजारौं युवाले राष्ट्रपति दीना बोलुआर्तेविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्जसँगै अश्रुग्यास पनि प्रहार गरेको छ । जवाफमा युवाहरूले ढुंगा प्रहार गरेका छन् । कतिपय युवाले लाठी चार्जको विरोधमा आगजनी गरेका छन् ।

प्रदर्शन सेप्टेम्बर २० मा पेन्सन प्रणालीमा गरिएका परिवर्तनपछि शुरु भएको हो। नयाँ नियम अनुसार, पेरूमा १८ वर्ष पूरा गरेका हरेक व्यक्तिले कुनै न कुनै पेन्सन कम्पनी र संस्थासँग जोडिनैपर्ने हुन्छ। यसबाहेक, राष्ट्रपति बोलुआर्ते र संसदविरुद्ध लामो समयदेखि जन असन्तोष बढिरहेको छ।

जेनजीले यस आन्दोलनका लागि जापानी एनिमे वन पिसको क्यारेक्टर ‘लूफी’लाई आफ्नो आदर्श बनाएका हुन्। यो क्यारेक्टर न्यायका लागि लड्ने पात्र हो । भ्रष्टाचार, आर्थिक असुरक्षा, बढ्दो अपराध र जवाफदेहीको कमीले युवाहरूलाई क्रोधित बनाएको छ। सन् २०२२ मा पूर्वराष्ट्रपति पेद्रो कास्तिलोलाई पदच्युत गरी गिरफ्तार गरिएपछि सुरक्षा बलको कारबाहीमा दर्जनौं प्रदर्शनकारी मारिएका थिए। यसकाे बारेमा सरकारलाई अझै प्रश्न गरिँदै आएको छ।

पेन्सन प्रदायक भनेका निजी वा सरकारी संस्था हुन्छन् । जसले नागरिकसँग मासिक निश्चित रकम संकलन गर्छन् । वृद्धावस्थामा वा अवकाशपछि त्यहि रकमलाई पेन्सनको रूपमा फिर्ता दिन्छन्।