Logo १२ आश्विन २०८२, आइतबार | Sun Sep 28 2025


उद्योगीलाई डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बुझाउन प्राधिकरणकाे २१ दिने अल्टिमेटम


286
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम दिएको छ ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै आगामी कात्तिक १७ गतेभित्र बक्यौता बुझाउन उद्योगीहरुलाई अल्टिमेटम दिएको हो । डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत उपयोग गरे बापत २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत महशुल बाँकी रहेका ग्राहकले तोकिएको अवधिभित्र बक्यौता बुझाउनु पर्ने भएको छ ।

यस अघि बक्यौता रहेका ग्राहकलाई प्रशासकीय पुनरावलोकनका लागि जेठ २०८२ भित्र निवेदन दिन सक्ने म्याद कायम भएको थियो । सोही अनुसार २०८२ वैशाख २६ र ३० गते सूचना प्रकाशित भएको थियो । प्राधिकरण सञ्चालक समितिको असोज १० गतेको बैठकले म्याद कायम गर्ने निर्णय र प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सबै काम कारबाही बन्द गरेका कारण अब उद्योगीहरुले पूर्वनिर्धारित शुल्क अनुसार नै बक्यौता तिर्नुपर्ने भएको छ ।

प्राधिकरणका अनुसार पछिल्लो समय २९ कात्तिक २०८१ मा गोरखापत्रमा प्रकाशित सूचना अनुसार बक्यौता तिर्नुपर्ने भएकाे हाे । जारी सूचनामा टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टाइम इन्टर्भलमा रेकर्ड भएको खपत इनर्जीका आधारमा गणना भएको बिल अनुसारको बक्यौता तिर्नुपर्ने छ । प्राधिकरणले उद्योगीले किस्ताबन्दीमा बिल तिर्न चाहेमा भने २८ किस्ताको सुविधा दिने जनाएकाे हाे ।

प्राधिकरणले सोही अवधिभित्र बक्यौता बुझाउन नआए कानून अनुसार कारबाही हुने चेतावनी समेत दिएको छ ।