
काठमाडाैं । नेकपा माओवादी केन्द्रले आगामी मंसिरका विशेष महाधिवेशन गर्ने भएको छ ।
काठमाडाैंमा शुक्रबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । विशेष महाधिवेशनका लागि पार्टीको पदाधिकारी हटाएर अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति पनि गठन गरिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
उहाँले सोही महाधिवेशन आगामी मंसिरको अन्तिम सातासम्म सम्पन्न गर्ने निर्णय गरिएको पनि जानकारी दिनुभएकाे छ । बैठकले निर्वाचनमा जाने निष्कर्ष निकाल्दै त्यसका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने पनि निर्णय गरेको हाे । बैठकले जेनजी आन्दोनलको क्रममा क्षति भएको सार्वजनिक तथा पार्टीको संरचना निर्माणका लागि स्वमयसेवक परिचालन गर्ने निर्णय गरेकाे छ।
उहाँले भन्नुभयो,-‘जेनजी आन्दोलनलाई विश्लेषण गरी पार्टीको विशेष महाधिवेशन आयोजना गरिनेछ । केन्द्रीय समिति विघटन गरी आयोजक आयोजक समिति बनाउने निर्णय भयो । अध्यक्ष लगायत सबै पदाधिकारीको व्यवस्था अहिले स्थगित गर्ने । महाधिवेशनमा जेनजी लगायत युवाहरुको अधिकतम सहभागिताका लागि वातावरण तयार पार्ने । हाम्रो पार्टी दृढतापूर्वक तोकिएको समयमानै निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन र तयारीमा सम्पूर्ण रुपले होमिनुपर्छ भन्ने निर्णय गर्दछ । राष्ट्रिय स्वाधिनता र लोकतन्त्र गम्भिर संकटमा रहेको वर्तमान सन्दर्भमा समाजवादी मोर्चामा रहेका दलहरुलाई पार्टी एकता र धुव्रीकरणको प्रक्रिया अगाडि बढाईनेछ । विचार मिल्नेसँग अन्य बुँदाहरुमा पनि सहकार्य गरिनेछ । क्षतिग्रस्त सार्वजनिक तथा सरकारी संरचनाको सम्बन्धित निकायहरुसँग समन्वय गरी स्वमयसेवक तथा आवश्यक सहयोग परिचालन गर्ने । पार्टीका क्षतिग्रस्त संरचनाहरु, त्यस्तै गरी अन्य संरचना निर्माणमा सहयोग गर्नका लागि पार्टीको तर्फबाट पहलकदमी लिने । जेनजी आन्दोलनमा भागेका कैदीबन्दी तथा सामाजिक अराकजकताका कारणले जनतामा अरु असुरक्षा बढेको छ । स्थानीय पार्टीहरुले जनताको जीउधनको रक्षा तथा जनताको सुरक्षाका लागि विभिन्न तहको जनपरिचालन गरी जीवन तथा व्यवसायको सुरक्षामा स्वयंसेवक परिचालनको व्यवस्था गर्ने ।’
माओवादी केन्द्रले नेताहरुको सम्पन्न छानविन गर्नका लागि सम्पत्ति छानविन आयोग पनि गठन गर्ने भएको छ । प्रवक्ता सापकोटाका अनुसार तत्काल छानविन समिति बनाएर नेताहरुको सम्पती छानविनको काम शुरु गर्ने निर्णय गरिएको हाे।
उहाँले भन्नुभयो,-‘सम्पत्ति छानविन आयोग बनाएर सम्पतीको छानविन गर्ने । त्यो पदाधिकारीबाट शुरु गर्ने । कार्यालय, सचिवालय र परिवारको व्यवस्थापनमा नितान्त नयाँ ढंगले सोच्ने । महाधिवेशन मंसीरको अन्तिमसम्म गर्ने निर्णय गरियो ।’
त्यसैगरी केन्द्रीय कार्याल, सचिवालय र नेताका परिवारको व्यवस्थापनको कामलाई नयाँ ढंगले अघि बढाउने निर्णय पनि गरिएको माओवादी केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्