Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


लद्दाखमा विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा ४ जनाको मृत्यु, ७० बढी घाइते


3.7k
Shares

एजेन्सी । केन्द्रशासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित लेहमा बुधबार भएको प्रदर्शन हिंसात्मक बनेको छ।

विद्यार्थी र सुरक्षाकर्मीबीचको झडपमा परी ४ जनाको मृत्यु भएको हाे । साेही झडपमा परी ७० जना भन्दा बढी घाइते भएका छन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। भाजपा कार्यालय र सीआरपीएफको गाडीमा समेत आगजनी गरिएको छ। यसैबीच प्रशासनले लेहमा कुनै पनि र्‍याली वा प्रदर्शन गर्न रोक लगाएको जनाएकाे हाे।

विद्यार्थीहरू सामाजिक अभियन्ता सोनम वाङ्चुकको समर्थनमा आन्दोलनमा उत्रिएका हुन्। वाङ्चुक १५ दिनदेखि आमरण अनशनमा बसेका थिए। माग पूरा नभएको विरोधमा प्रदर्शनकारीहरूले बन्दको आह्वान गरेका थिए। साेही क्रममा हिंसा शुरु भएको हो।

अभियन्ता वाङ्चुकले यो लद्दाखका लागि दु:खको दिन भएकाे बताएका छन्। पाँच वर्षदेखि शान्तिपूर्ण बाटोमा हिँडिरहेकाे समेत उनले बताएका हुन् । अनशन गर्नुका साथै लेहदेखि दिल्लीसम्म पैदल हिँडेकाे समेत स्मरण गरेका थिए। शान्तिको सन्देश असफल भएको देखिरहेकाे समेत उनकाे तर्क रहेकाे छ ।

अभियन्ता वाङ्चुकले गोलीबारी, आगजनी र हिंसा भइरहेको र आफू लद्दाखको युवा पुस्तालाई यो मूर्खता रोक्न अपील समेत गरेका छन् । अब अनशन तोड्ने र प्रदर्शन रोक्ने उनले जानकारी गराएका हुन् ।