Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन दिनभर लाग्ने


546
Shares

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने देखिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

तुइन खोला पुल नजिकै मंगलबार दिउँसो ४: ५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ ।

पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएकोले वैकल्पिक सडक प्रयोग गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।

मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ । यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा राखेको छ । मुस्ताङदेखि तराइ जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ ।

साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ । त्यसका लागि दमौली–खैरेनीटारबाट बायाँतर्फबाट भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट पुग्न सकिन्छ।

मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ । खैरेनीटार–भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद–मानपुर कच्चीसडक ३५ किलोमिटर छ । मानपुर–डेढगाउँ कालोपत्रे (४० किमि), डेढगाउँदेखि नारायणगढ ७० किमी रहेको छ ।