
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘जेनजी’ को भावना र आन्दोलनको सन्देशलाई आत्मसात गर्दै कांग्रेस नयाँ ढंगले रूपान्तरण हुने बताउनुभएकाे छ।
पार्टीको झापा निर्वाचन क्षेत्र-१, क्षेत्रीय समितिले मंगलबार गृहनगर धुलाबारीमा आयोजना गरेको ‘अबको राजनीति र अबको नेपाल’ विषयक अन्तरक्रियामा बाेल्दै उहाँले पार्टीमा रूपान्तरणको विकल्प नरहेको बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे,- ‘समय बदलिएको छ । सबै बदलिनुपर्छ । नेता, कर्मचारी संयन्त्र सबै बदलिनुपर्छ । सिंहदरबार मात्र होइन, गाउँ-गाउँका हरेक तह बदलिनुपर्छ । चिया पसल गर्नेहरू पनि बदलिनुपर्छ । पार्टीको कुरा गर्दा अब जो बदलिन्छन्, तिनले नेतृत्व लिन्छन्, जो बदलिँदैनन् तिनले बिदा लिन्छन् ।’
जेनजीले सबैको आँखा खोलिदिएको बताउदै उहाँले लोकतान्त्रिक पद्धतिप्रतिको उच्च चेत, भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदमको आवश्यकता र नेतृत्व परिवर्तन यो आन्दोलनको सन्देश रहेको बताउनुभयाे । आन्दोलनको पहिलो दिन प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिने र दोस्रो दिन आगजनी एवम् तोड्फोड गर्नेहरूका विषयमा गहन रुपमा छानबिन हुनुपर्नेमा उहाँकाे जाेड छ। महामन्त्री शर्माले दोषी जाेसुकै भएता पनि उनीहरूप्रति कुनै मोलाहिजा नराखी कडा कानूनी कारबाही हुनुपर्नेमा बताउनुभयाे ।
महामन्त्री शर्माले मेचीनगर–१० स्थित पार्टीको क्षेत्रीय कार्यालय, मेचीनगर नगरपालिकासहित गत भदौ २४ गते आगजनी तथा तोड्फोडबाट ध्वस्त भएको आफ्नो निजी निवासको अवलोकन समेत गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्