काठमाडौं, असोज ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचारी साना र ठूला नहुने भएकाले सबैलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
उनले भने–‘दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो । करोडौं खाने पनि भ्रष्टाचारी हो । भ्रष्टाचार गर्ने जो–कोहीलाई पनि कानुनी दायरामा ल्याउन आयोग प्रतिबद्ध छ ।’
आयोग कार्यालय टंगालमा बिहीबार पदबहालीपछि उनले भने–‘भ्रष्टाचार एउटा महारोगकारुपमा विकसित भएको छ । यसलाई नियन्त्रणका लागि आयोगले इमान्दार र सकारात्मक पहल गर्नेछु ।’
कानुनको सीमाभित्र रहेर इमान्दारीपूर्वक काम गर्ने र साना–ठूला सबैखालका भ्रष्टाचारीलाई आयोगले कठोरतापूर्वक कारबाही गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
सामाजिक प्रवृत्तिकारुपमा भ्रष्टाचार संस्थागत हुँदै गएकाले त्यसलाई नियन्त्रणका लागि कानुनी दायरामा रहेर आयोगले काम गर्ने भन्दै नवनियुक्त प्रमुख आयुक्त घिमिरेले सरकारका निकाय, नागरिक समाज, सन्चारकर्मीबाट पनि आयोगले साथ पाउने विश्वास व्यक्त गरे ।
राज्यका सबै निकायको एकीकृत र समन्वायत्मक प्रयासबाटमात्रै भ्रष्टाचारको पूर्णनियन्त्रण हुने भन्दै नवनियुक्त प्रमुख आयुक्त घिमिरेले सहयोगका लागि आग्रह गरे ।
आफूले कानुनको अधीनमा रहेर भ्रष्टाचार नियन्त्रण, अनुसन्धानको कामलाई अगाडि बढाउने र समाजमा भ्रष्टाचार महारोगकारुपमा फैलिएको छ, त्यसलाई नियन्त्रण गर्न अधिकतम् प्रयास गर्ने उनको कथन थियो ।
प्रवृत्तिगतरुपमा पनि भ्रष्टाचारका अनेकनरुप देखिएकाले अनुसन्धानका लागि दक्ष जनशक्ति तथा प्रविधिको प्रयोगलाई पनि आफ्नो कार्यकालमा अगाडि बढाउने उनको भनाइ थियो ।
वि.सं. २०७४ फागुन २ गतेदेखि कायममुकायम प्रमुख आयुक्तकारुपमा कार्यरत् घिमिरे बिहीबारमात्रै प्रमुख आयुक्तमा नियुक्त भएका हुन् ।
शपथ लिएलगत्तै आयोग कार्यालय पुगेका नवनियुक्त प्रमुख आयुक्त घिमिरेलाई आयोगका आयुक्तहरु, सचिव तथा आयोगमा कार्यरत् कर्मचारीले स्वागत गर्दै सफल कार्याकालको कामना गरेका थिए ।
पदभारग्रहणलगत्तै नवनियुक्त आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणमा इमान्दार भएर खट्न, अनुसन्धानलाई प्रभावकारी बनाउन आयोगमा कार्यरत् कर्मचारीलाई निर्देशन दिएका थिए ।
उनले जनताको अपेक्षाअनुसार अनियमितता र भ्रष्टाचार नियन्त्रणमा आयोगका कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले इमान्दार प्रयत्न गर्नसमेत आग्रह गरेका थिए ।
संसदीय सुनुवाइ समितिले बिहीबारमात्रै प्रमुख आयुक्तमा घिमिरेलाई अनुमोदन गरेको थियो । रासस









प्रतिक्रिया दिनुहोस्