Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा अध्यक्ष दाहालकाे जोड

नेतृत्व हस्तान्तरणको विषयमा पार्टीभित्र छलफल जारी

1.1k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिनुभएकाे छ।

अध्यक्ष दाहालले बिहीबार दिउँसाे एक भिडियो वक्तव्य मार्फत लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र राष्ट्रलाई थप अस्थिरताबाट जोगाउन निर्वाचन सम्पन्न ढिला गर्न नहुने बताउनुभएकाे हाे । देश र जनताविरुद्धका षड्यन्त्र नसकिएकाे बताउदै उहाँले अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास शुरु भइसकेको समेत बताउनुभयाे । निर्वाचन हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनावद्ध प्रयास हुन सक्ने उहाँकाे भनाइ छ ।

उहाँले आफ्नो सम्बोधनमा अतीतका कमजोरीहरूलाई स्वीकार गर्दै पार्टी र नेतृत्व दुवैलाई सच्याउने प्रक्रियामा रहेको बताउनुभयाे। गलत विचार वा नीति नलिएकाे तर व्यवहारमा कतै चुकेकाे उहाँले बताउनुभयाे । सरकारको नेतृत्व गर्दा कुनै राष्ट्रघाती सम्झौता नगरेको र भ्रष्टाचारविरुद्ध निरन्तर लडिरहेको समेत उहाँले दावी गर्नुभयाे ।

तर, जनताको अपेक्षासँग तुलना गर्दा आफूहरू कमजोर देखिएको स्वीकार गर्दै उहाँले सच्याउने प्रतिबद्धता जनाउनुभएकाे छ। नेतृत्व हस्तान्तरणको विषयमा पार्टीभित्र छलफल शुरु भइसकेको उहाँले जानकारी गराउनुभएकाे छ । संविधान र लोकतान्त्रिक गणतन्त्रप्रति कुनै पनि प्रकारको विचलन देशलाई समाधानतर्फ नभई संकटतर्फ लैजाने चेतावनी दिनुभएकाे हाे ।

लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हुने बताउदै उहाँले संविधान र लोकतन्त्रको रक्षा मार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नुपर्ने समेत बताउनुभयाे । यो सबै नेपालीको साझा कर्तव्य भएकाे अध्यक्ष दाहालले बताउनुभयाे । उहाँले अन्तरिम सरकारलाई असफल बनाउन र निर्वाचन हुन नदिन योजनाबद्ध प्रयास हुन सक्ने चेतावनी समेत दिनुभएकाे छ ।

त्यसविरुद्ध सचेत रहन लोकतन्त्रवादी शक्तिलाई उहाँले आह्वान समेत गर्नुभयाे ।