Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


उद्योग व्यवसायमा गरिएको आगजनी, तोड्फोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छः अध्यक्ष ढकाल


234
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएका उद्योगहरुको आगजनी, लुटपाट र तोड्फोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको एफएनसिसिआईको टोलीले बुधबार जेनजी आन्दोलनको क्रममा आगजनी र तोड्फोड भइ क्षतिग्रस्त रहेको भाटभटेनी सुपरमार्केट, कान्तिपुर मिडिया र उपेन्द्र महतोको घरको अवलोकन गरेको हो । अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासंघका अध्यक्ष ढकालले उद्योगहरुको आगजनी, लुटपाट र तोड्फोडमा संलग्न भएका व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्नुभएकाे छ ।

उहाँले मुलुकको हरेक आन्दोलनमा निजी क्षेत्रलाई गम्भिर क्षति पुर्याउने काम हुँदै आएको उल्लेख गर्दै त्यसो हुन नदिने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष ढकालले राज्यले उद्योग र व्यवसाय संचालनका लागि आवश्यक सुरक्षालगायतका प्रबन्ध मिलाउन नसके नेपालमा बाह्य लगानी भित्र्याउन नसकिने पनि स्मरण गराउनुभएकाे छ।

महासंघले उद्योग व्यवसाय संचालनका लागि सरकारले लगानीको लागि उचित वातावरण बनाउन नसकेको गुनासो पनि गर्दै आएको छ । महासंघले निजी क्षेत्र अब अझै उच्च मनोवलका साथ अघि बढ्ने विश्वास समेत व्यक्त गरेकाे हाे ।