Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


जेनजी आन्दोलनको क्रममा भएका क्षतिको आँकडा छिटै सार्वजनिक गर्ने ऊर्जामन्त्री घिसिङकाे तयारी


234
Shares

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाई एवं भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आँकडा छिटै सार्वजनिक गर्ने बताउनुभएको छ ।

उहाँले बुधबार दिउँसाे साेही आन्दोलनको क्रममा आगजनीले क्षतिग्रस्त संघीय संसद भवनको अवलोकन गर्ने क्रममा उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे बताउनुभएको हो । काठमाडौंमा मात्रै नभएर आन्दोलनको क्रममा देशैभरी ठूलो क्षति भएको मन्त्री घिसिङको भनाइ थियो । उहाँले क्षतिग्रस्त भवनहरुको पुनर्निर्माणका लागि राष्ट्रिय जागरण अभियाननै संचालन गर्ने कार्ययोजना रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो,-‘पुनर्निर्माणका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गरिनेछ । देशविदेशमा रहेका सबै नेपाली जनताहरुले देशलाई समृद्धितर्फ ल्याउनलाई हामीले पनि योगदान गर्नुपर्छ भन्ने यो अभियान हुनेछ । त्यसबाट नपुगे सरकारले अरु पनि व्यवस्था गर्छ । ठूलो क्षति भएको छ । यहाँ काठमाडौंमा मात्र होइन, देशभरी क्षति भएको छ । त्यो क्षतिको जुन एसिस्मेन्ट छ । त्यो छिटै आउँछ ।’

मन्त्री घिसिङले सरकारले क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने कामलाई पनि अघि बढाएको बताउनुभयो ।