Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


जेनजीकाे आन्दाेलन पछि: ‘काठमाडाैंका मेयर बालेन र धरानका मेयर हर्कबीचकाे टकराव सतहमा’


2.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई माया गर्ने बताउनुभएको छ । मेयर बालेनले मंगलबार दिउँसाे सामाजिक सञ्जाल मार्फत यस्तो बताउनुभएको हो ।

उहाँले आफूलाई मेयर हर्कले जति गाली गरेता पनि माया गर्न नछोड्ने समेत बताउनुभएको छ।आफूले मेयर हर्कलाई एक तर्फी रुपमा गरेको माया सही र साँचो भएको समेत उहाँले दावी गर्नुभयो । मेयर बालेनले हर्कलाई तिमी मेरो साँचो प्रेम हौं भनेर नम्र भाषामा सम्बाेधन समेत गर्नुभएको छ।

तर धरानका मेयर साम्पाङले देश रोएको समयमा काठमाडौंका मेयर बालेन हाँस्दै बसेको आरोप लगाउनुभएको छ ।
मेयर साम्पाङले मंगलबार साँझ मात्रै लगातार सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै यस्तो आरोप लगाउनुभएको हो ।

मेयर बालेनले खेल खेल्दै स्टाटस लेख्न मात्रै तल्लीन रहेको उहाँको आरोप थियो । मेयर बालेनलाई लुकेर खेल खेल्दै स्टाटस लेख्न सजिलो हुने र देशले कति गुमायो थाहा छ भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ । यसअघि मेयर बालेनले मेयर साम्पाङले जति गाली गरेपनि आफूले उहाँलाई माया गर्न नछाड्ने फेसबुकबाटै बताउनुभएको थियो। मेयर साम्पाङलाई फकाउने शैलीमा बालेनले फेसबुकमा लेखेपनि उहाँ अझैं आक्रोशित हुनुभएको छ ।

काठमाडौंका मेयर बालेन र धरानका मेयर साम्पाङबीच यहि भदौ २३ र २४ गते जेनजी युवाले काठमाडाैं उपत्यकासहित देशैभरी गरेको आन्दोलनपछि विवाद उत्पन्न भएको हो । मेयर साम्पाङ धरानदेखि मिले प्रधानमन्त्री बन्ने त्यो नभएता पनि मन्त्रीसम्म बन्ने लक्ष्य राखेर काठमाडौंमा आउनुभएको थियो । तर यी दुवै पद नपाएपछि उहाँ फेरी धरानै फर्किनुभएको थियो ।

मेयर बालेनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउनका लागि समर्थन गरेपछि धरानका मेयर साम्पाङ रित्तो हात धरान फर्कन बाध्य हुनुभएको थियाे । यहि भदौ २४ गते जेनजी युवाको आन्दोलन थेग्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भएर पदबाट राजीनामा दिनुभएको थियो । त्यपछि प्रधानमन्त्री पद रिक्त रहेको थियो । सोही पदपूर्ति गर्न जेनजी युवा र काठमाडौंका मेयरको समर्थनमा कार्कीलाई प्रधानमन्त्रीमा चयन गरिएको हो ।

त्यसपछि मेयर बालेनसँग धरानका मेयर साम्पाङ रूष्ट हुनुभएको छ ।