Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


प्रधामन्त्री ओली शनिबार न्यूयोर्क प्रस्थान गर्ने, यस्ता छन् कार्यक्रम


0
Shares

सुरेन्द्र नेपाली (रासस) 

काठमाडौं, असोज ४ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यूयोर्कतर्फ प्रस्थान गर्ने भएका छन् । उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहनेछिन् ।

असोज ९ गते मंगलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्रसंघलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् । उनले सोही दिन यस विश्व संस्थाका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’कारूपमा उच्चस्तरीय पूर्णबैठकलाई सम्बोधन गर्नेछन् । सो बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको सम्मानमा उनको शताब्दीऔं जन्मदिवसका अवसरमा आयोजना हुनेछ ।

प्रधानमन्त्री ओली तथा श्रीमती शाक्य सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

उनी असोज ९ गते मंगलबार संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् ।

प्रधामन्त्री ओलीले सोही दिन महासचिव गुटेरेसले आयोजना गर्ने ‘शान्तिका लागि कार्य गर्न उच्चस्तरीय बैठक’लाई सम्बोधन गर्नेछन् । उनले सोही दिन एसिया सोसाइटीमा ‘शान्ति, प्रजातन्त्र तथा विकास’का विषयमा सार्वजनिक व्याख्यान दिनेछन् । अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई निर्देशन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभाका कार्यक्रमका साथसाथै असोज १० गते बुधबार स्वीट्जरल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता गर्नेछन् ।

उनले असोज १२ गते शुक्रबार क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग दुईपक्षीय भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री ओली असोज १३ गते शनिबार दुईपक्षीय औपचारिक भ्रमणकाक्रममा न्यूयोर्कबाट कोस्टारिकाको सान होजेतर्फ प्रस्थान गर्नेछन् ।

प्रधामन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नेछन् । उनले सान होजेमै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस)लाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री असोज १७ गते बुधबार काठमाडौंका लागि प्रस्थान गर्नेछन् । प्रतिनिधिमन्डल उनको साथमा रहनेछ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अन्य बैठकका साथै छुट्टैरुपमा असंलग्न अभियानका मुलुकको समूह, ७७ मुलुकका समूह, अल्पविकसित मुलुकका समूह तथा भूपरिवेष्टित विकासशील मुलुकका समूह तथा मध्यस्थताका मित्रका समूहका मन्त्रीस्तरीय बैठकहरुमा भाग लिनेछन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले असोज ११ गते बिहीबार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को मन्त्रीस्तरीय अनौपचारिक बैठक आयोजना गर्नेछन् ।

प्रधानमन्त्री ओलीका भ्रमणदलमा उनका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनेछन् ।