
काठमाडौं । नेकपा एमाले जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सोमबार सबै भन्दा ठूलो झण्डा फहराइएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र यससँग आबद्ध घटकका करिब सय जना नेता-कार्यकर्ताले हँसिया–हथौडा अंकित ४५-४५ फिट आकारको झण्डा राखेका हुन्। जिफन्टले अहिलेसम्मकै सबै भन्दा ठूलो पार्टी झण्डा भएकाे जनाएकाे छ ।
साेही झण्डा साेमबार बिहान ११ बजे च्यासल पार्टी कार्यालय भवनको पूर्वतर्फ राखिएको थियो । जसलाई वरिपरि सबैले देख्न सक्ने गरी सजाइएको थियो । त्यस्तै, आगजनीका कारण क्षतिग्रस्त भएको सोही भवनको तेस्रो तलामा पनि पार्टी झण्डा टाँगिएको छ ।
झण्डा फहराएपछि जिफन्ट टोलीले पार्टी महासचिव शंकर पोखरेलको घर सरसफाइ समेत गरेको थियो। जेनजी आन्दोलनका क्रममा क्षति पुगेको घरभित्रका जलेका, फुटेका र तोड्फोड भएका सामानहरू करिब ३ घण्टा लगाएर सफा गरिएको जनाइएकाे छ ।
अन्य पार्टी नेताका घरहरू र पार्टी कार्यालयहरूमा पनि यस्तै सरसफाइ अभियान सञ्चालन गरिने भएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्