
रमेश धमला
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा यहि भदौ २३ र २४ गते भएको हिंसात्मक घटनामा मुलुकभरी कति भौतिक क्षति भयो भन्ने यकिन विवरण आउन अझै सकेको छैन ।
नेपाल प्रहरी तथा निजामती कर्मचारीले जलाइएका भवनहरुबाटै सेवा विस्तार गरिरहेका हुन् । सबै सरकारी संरचनाहरुमा नियोजित आक्रमण भएको प्रारम्भिक असुन्धानले देखाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले न्यायालय तथा सुरक्षा निकायसहित देशका अत्यावश्यक संरचनाहरुमा भएको आगजनी षड्यन्त्रमूलक भएको बताउनुभयाे ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भूकम्प पछि उठेको ५ वर्ष नपुग्दै फेरी खण्डहरमा परिणत भएको छ । जेनजी आन्दोलनका नाममा देशको ऐतिहासिक धरोहर सिंहदरबारमा आगो लगाउने नियोजित समूहको थियो भन्ने सूचना संकलनमा सुरक्षा निकाय लागेको छ । सिंहदरबारको मुख्य भवन तथा गृह मन्त्रालय, शिक्षा मन्त्रालय र उर्जा मन्त्रालय पूर्ण रुपमा जलाइएका छन् ।
त्यसो त सर्वोच्च अदालत, जिल्ला र विषेश अदालत जलाउने पनि नियोजित समूह नै परिचालन भएको आशंकालाई बल पुग्ने तथ्यहरु पनि खोजी भइरहेको छ । सबै भन्दो ठूलो भौतिक क्षति प्रहरी कार्यालयहरुमा भएको छ । काठमाडौं जिल्लाभित्रका अधिकांश प्रहरी कार्यालय र सवारी साधन जलाउनुका साथै हतियार समेत लुटिएका छन् । उपत्यका प्रहरी कार्यालयले लुटपाट र आगजनीमा संलग्नहरुको खोजिका लागि विशेष टोली नै तयार पारेको छ । प्रहरी प्रधान कार्यालयले पनि देशैभरी कारबाही चलाउने रणनीति बनाएको छ ।
सिंहदरबार जलाउने र अदालत तथा प्रहरी कार्यालय जलाउने समूह फरक-फरक भएको सुरक्षा निकायहरुको विश्लेषण छ । सर्वोच्च को काठमाडौं फाँटमा सबै भन्दा बढी कागजात जलेकाले कारगार तोडेर आएका कैदीहरुले नै आगो लगाएको आशंका छ भने केही पुराना मुद्दासँग जोडिएका राजनीतिक दलका आरोपीहरु पनि संलग्नता हुन सक्ने आशंका गरिएको हाे । प्रहरी कार्यालयहरु जलाउने कार्यमा हिरासतबाटै भागेकाहरु बढी संलग्न देखिएका छन् । उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा पनि सबै सवारी साधान र भवनमा आक्रमण भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले पनि आइतबार यहि भदाै २४ गतेको घटना नियोजित षडयन्त्र भएको बताउनुभएको छ । उहाँले सर्वोच्च, जिल्ला, उच्च अदालतहरुमा नियोजित आक्रमण गरिएको बताउनुभयो । प्रमाण नष्ट गर्ने उदेश्यले नियोजित आक्रमण भएको आशंका ब्यक्त गर्नुभएको छ । सरकारी र निजी सम्पत्तिमा आक्रमण गर्नेहरुले राज्यलाई नै चुनौती दिएको भन्दै उहाँले सिंहदरबार जलाउनेहरुलाई कसरी नेपाली भन्ने भन्दै प्रश्न समेत गर्नुभएकाे छ ।
प्रहरीले आफ्ना कार्यालय तथा भौतिक संरचनाहरुमा भएको क्षतिका साथै अन्य निजी तथा सार्वजनिक सम्पतिहरुमा भएको भौतिक क्षतिको तथ्यांक संकलन गरिरहेको छ । प्रहरीका करिब ३ सय थान हतियार लुटिएको जनाइएको छ । जसमध्ये ४० थान हतियार भेटिए भने अन्यको खोजिका लागि विशेष टोली नै परिचालन गर्ने तयारी प्रहरीको रहेकाे हाे।
आगामी फागुन २१ गते निर्वाचन गराउने मुख्य दायित्व बोकेको प्रधानमन्त्र कार्की नेतृत्वको सरकारसामु आन्दोलन दमन गर्नेहरुलाई न्यायको कठघरामा उभ्याउनेदेखि देशका अत्यावश्यक भौतिक संरचना ध्वस्त बनाउनेहरुलाई कारबाही गर्ने दायित्व पनि उत्तिकै महत्वपूर्ण रहेकाे हाे । त्यसमाथि नेपाल प्रहरी लगायतका सुरक्षा निकायहरुको मनोबल बढाउनु पनि उत्तिकै जरुरी रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्