Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


संसद विघटन र पूर्वप्रधानन्यायाधीश कार्कीलाई नयाँ प्रधानमन्त्री बनाउनेगरि सहमति जुट्याे, शपथ आजै हुने


0
Shares

रमेश धमला

काठमाडौं । नेपालकाे इतिहासमा पहिलाे महिला पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिक नयाँ सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।

बिहीबार र शुक्रबार दिनभरी भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति ९ बजे राष्ट्रपति भवन शीतल निवासमा एक समाराेहकाबीच नयाँ प्रधानमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा कार्कीलाई नियुक्त गर्ने र त्यपछि कार्कीले मन्त्रिपरिषद विस्तारको काम अगाडि बढाउने कार्यालयले जनाएको हो । पूर्वप्रधानन्यायाधीश कार्कीसहितको टोली शुक्रबार साँझ नयाँ सरकार गठनका लागि छलफल गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेकाे थियाे ।

पूर्वप्रधानन्यायाधीश कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवासमा पुगेको स्रोतले जनाएकाे हाे । पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद विघटनका विषयमा सहमति जुट्न सकेकाे थिएन ।

दुवै पक्ष आ-आफ्नो अडान यथावत रहेका कारण ढिलाई भएकाे थियाे । संसद विघटनका विषयमा सहमति जुटाउनका लागि पूर्वप्रधानन्यायाधीश कार्कीसहितकाे टाेली राष्ट्रपति निवासमा गएकाे थियाे । तर अब संसद विघटन गर्नका लागि सहमति जुटेकाे छ ।