Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


जेनजी प्रदर्शन अपडेट: मृत्यु हुनेकाे संख्या डेढ दर्जन नाघ्याे, ३ पत्रकारसहित साढे २ सय बढी घाइते, ५० काे अवस्था गम्भीर


936
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नेपालको इतिहासमै सबै भन्दा ठूलो मानवकाे हत्या गरेको छ ।

देशमा ब्याप्त कुशासन विरुद्ध स्वस्फूर्त प्रदर्शन उत्रिएका जेनजी युवाहरुको प्रदर्शनमा बर्बर दमन गरेर ओली सरकारले ३ घण्टाको अन्तरालमा डेढ दर्जन युवाको ज्यान लिएको छ । कुनै पनि राजनीतिक आन्दोलनमा एकै दिन यति धेरै नागरिक मारिएको इतिहासमा पहिलो पटक हो । घटनामा साढे २ सय बढी घाइते भएका छन् । मृतक र घाइतेहरुको अझै पहिचान खुलिसकेको छैन । साेमबार बिहान ९ बजेदेखि राजधानीको माइतीघर क्षेत्रमा भेला भएका युवाहरु प्रदर्शन गर्दै नयाँ बानेश्वरतिर अघि बढ्दै जाँदा प्रहरी आफैैंले निषेधित क्षेत्रको ब्यारिकेड खोलिदिएको थियो ।

नयाँ बानेश्वर चोकमा प्रदर्शनकारीहरु ठूलो संख्यामा जम्मा भएपछि केही प्रदर्शनकारीहरु संघीय संसद भवनमा प्रवेश गर्न खोजेपछि प्रहरी बर्बर दमनमा उत्रिएको हो । प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न आवश्यक उपायहरु अवलम्बन नगरी अन्धाधुन्द गोली हान्न थालेको थियो । प्रदर्शनकारीहरु एकपछि अर्को गर्दै ढल्न थालेपछि प्रहरीले अश्रुग्याँस र लाठीचार्ज गरेको थियो । प्रहरीको गोली लागेर ३ जना पत्रकार समेत घाइते भएका छन् । केही प्रदर्शनकारीहरुको संसद भवनको प्रवेशद्वारमै ढलेका थिए ।

घाइतेहरु मध्ये अधिकांशलाई प्रदर्शनस्थल नजिकै रहेको सिभिल अस्पताल लगिएको थियो । सिभिल अस्पतालमा उपचारका क्रममा ३ जनाको ज्यान गएको थियो भने ट्रमा सेन्टरमा ७ जनाको ज्यान गयो । त्यसैगरी एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २ र त्रिवी शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो । घाइतेहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी रहेकाे छ । तर घाइते मध्ये ५० जना बढीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतहरुले बताएका छन् ।

घाइतेहरुको अवस्था देख्दा चिकित्सक र नर्सहरु समेत आत्तिने अवस्था रहेको चिकित्सकहरुले बताएका हुन् । घाइतेहरुको उपचारका लागि चिकित्सक र रगतको समेत अभाव भएको अस्पतालहरुले जनाएका छन् ।