
काठमाडौं । करातेमा नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल एरिका गुरुङ नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
नेपाल कराते महासंघले आईतवार कार्यक्रम गरी एरिकालाई दुई लाख रुपैयाँसहित सम्मान गरेको हो । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले दुई लाख रुपैयाँको चेक र सम्मानपत्र हस्तान्तरण गरे ।
एरिकाले गत जेठ १९ गते मोरक्कोमा सम्पन्न विश्व कराते वान प्रिमियर लिगमा कास्य पदक जितेकी थिइन् । यो पदक नेपाली करातेमा ऐतिहासिक र पहिलो हो ।
विश्व कराते महासंघका उत्कृष्ट ३२ खेलाडीले मात्र खेल्न पाउने प्रिमियर लिगमा एरिकाले कास्य पदक जितेकी थिइन् । यो कराते लिग विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतिष्पर्धा हो । सन् २०११ देखि शुरु भएको यो प्रतियोगितामा एरिकाले प्रशिक्षक बिना नै खेले पनि सफलता पाएकी हुन् ।
कुनै पनि नेपाली खेलाडीले यो च्याम्पियनसिपमा पदक जितेको पहिलोपल्ट हो । एरिकाका अरु पनि कीर्तिमान पनि छन् । उनले चीनको छाङछउमा भएको १९औं एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।
यस बाहेक एरिकाले थाइल्यान्ड ओपन, अमेरिका ओपन र १६औं एशियन सितोरियो प्यासिफिकमा पनि स्वर्ण पदक जितेकी छन् ।
प्रतिक्रिया दिनुहोस्