Logo २२ भाद्र २०८२, आइतबार | Sun Sep 7 2025


चाडपर्व नजिकिंदै गर्दा वाणिज्य विभागको बजार अनुगमन तीव्र

साढै ६ सय बढी अनुगमन, ८० लाख ६५ हजार रूपैयाँ जरिवाना

182
Shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैं र तिहार नजिकिंदै गर्दा बजार अनुगमनमा सक्रिय तीव्र बनाएकाे छ ।

विभागले यस पटक पनि पछिल्ला २ महिना यता अनुगमन तीव्र बनाएको हाे । विभागले पछिल्ला दुई महिनामा ६ सय ५० भन्दा बढी अनुगमन गरेको जनाएको छ । गत साउनदेखि यहि भदौं २० सम्मको अवधिमा १ सय २६ वटा उद्योग तथा व्यावसायलाई कारबाही गर्दै ८० लाख ६५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको हाे । त्यस्तै, अनुगमनका क्रममा २ सय २० वटा व्यावसायीलाई कागजातसहित उपस्थित हुन भनिएको थियो । ३ सय ४ वटालाई सामान्य निर्देशन दिइएको पनि विभागले जनाएकाे हाे ।

अण्डा, दुग्ध पदार्थ, मासु, तरकारी, फलफूल, पानीलगायतका खाद्यवस्तुमा हुने विषादी र मिसावट नियन्त्रण गर्न सम्बन्धित विभागलाई निर्देशन दिएको छ । विभागका महानिर्देशक रोशन ज्ञवालीले संविधानले गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति भएमा क्षतिपूर्ति माग्न पाउने अधिकार दिएको भन्दै उपभोक्तालाई न्यायिक उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको बताउनुभयो ।

केन्द्रीय बजार अनुगमन समितिको यहि भदौ १८ गते बसेको बैठकले नियमित तथा आकस्मिक अनुगमन गर्ने, चाडपर्व लक्षित अनुगमनलाई प्रभावकारी बनाउने र उपभोक्ता शिक्षा-सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । विभागले चाडपर्वमा कुनै वस्तुको अभाव हुन नदिइने दावी पनि गरेको हाे ।

उपभोक्ता शिक्षा तथा सचेतना कार्यक्रम संघ, प्रदेश र स्थानीय तहमार्फत सञ्चालन गरिने पनि विभागले जनाएको छ ।