२० भाद्र २०८२, शुक्रबार | Fri Sep 5 2025


मधेश प्रदेशमा खानेपानीको हाहाकार !


169
Shares

अर्जुन थपलिया-संवाददाता

सिरहा । मधेश प्रदेशमा खानेपानी योजनाका ओभरहेड ट्यांकीहरु विगत १२ वर्षदेखि सञ्चालनमा नआएपछि खानेपानीको हाहाकार मच्चिएको छ ।

प्रदेशका ८ वटै जिल्लामा ४ सय ९८ वटा ओभरहेड ट्यांकी रहेकाे हुन् । तर ती ट्यांकीहरु अलपत्र अवस्थामा रहँदा स्थानीय दैनिकी इनारबाट पानी तानेर तिर्खा मेटाउन बाध्य भएका छन् ।

सिरहाको गोलबजार नगरपालिका- १ की अमृत कला बाल्टिन र डोरीको मद्दतले एक सय फिट गहिरो इनारबाट हरेक दिन पानी भरेर घर ल्याउँछिन् । परिवार र पशुचौपायाका लागि चाहिने पानी इनारबाट ल्याउने उनको दैनिकी नै बनेको छ । अमृत कलाको जस्तै नियति प्रदेशका अधिकांश महिलाहरुले यस्तै समस्या भोग्नु परेको छ । जिल्लाका ताल तलैया समेत सुकेपछि पशुचौपायालाई खुवाउने पानी र आहाल खेलाउने पानी किसानसँग छैन।

यी दृश्यहरुले मधेशमा पानीको हाहाकार भएको अवस्था दर्शाउँछ । विडम्वना के छ भने मधेश प्रदेशमा करिब ५ सय हाराहारीमा ओभरहेड ट्यांकी ठडिएका छन् । तर कुनै पनि सञ्चलनमा आउन सकेका छैनन् । पालिकाभित्र निर्माण भएका ओभरहेड ट्यांकीका लागि सरकारले ५ अर्ब रुपैयाँ खर्चिएपनि निर्माण कार्य अलपत्र पर्दा स्थानीय खानेपानीको काकाकुल अवस्थामा पुगेका हुन् ।

गोलबजार नगरपालिका- १ बलडाँडा र मुक्सार गाउँमा एक-एक वटा, वडा २ को लालपुरमा १, वडा ३ को मुसहनियामा १, वडा ६ को तामाङ्ग टोलमा १, वडा ७ को डण्डा टोलमा १ र वडा १० को धर्मपपुर गाउँमा १ गरी ७ थान ओभरहेड ट्यांकी निर्माण गरिएका छन् । यी ओभरहेड ट्यांकी निर्माण सम्पन्न भएको एक दशक बढी बितिसक्दा समेत खानेपानी योजना सञ्चालनमा आउन नसकेकाे स्थानीय गोलबजार नपा –३ का बलराम घिसिङ्गले बताउनुभयाे ।

प्रयोग विहीन अवस्थाका खानेपानी ओभरहेड ट्यांकीहरु २०७० सालदेखि नै निर्माण थालिएको हो । भौतिक संरचना खडा भएका यी ओभरहेड ट्यांकीहरु सरकारले पर्याप्त बजेट नदिएको कारण अलपत्र परेको सरोकारवालाहरुको बुझाइ छ । संघीय सरकारले मधेशमा खानेपानीको हाहाकार भयो भन्दै महोत्तरी, धनुषा, रिहा र सप्तरी जिल्लामा रहेका २ सय ८० वटा खानेपानी योजना सञ्चालन गर्न ३ करोड बजेट रातो कितावमा विनियोजन गरेको छ । तर एउटा योजनामा सरदर १ लाखका दरले वार्षिक बजेट दिदाँ खानेपानी योजनाहरु सञ्चालनमा आउन नसक्ने खानेपानी तथा सरसफाई डिभिजन राजविराजका इन्जिनियर गृजेश यादवले बताउनुभयाे ।

कहीं पाइपलाइन ओछ्याउन नसक्नु त कहीं विद्युतीय मोटर खरिद गर्ने बजेट नभएर सञ्चालनमा आउन सकेको छैन । यति बेला ओभरहेड ट्यांकी परिसरहरु वनमाराले ढाकेका छन् त कतै खागोले घार लगाएको अवस्था छ । ठूला खानेपानी योजनाका ओभरहेड ट्यांकीहरु मात्र होइन नगरपालिका तथा गाउँपालिकाहरु आफैले निर्माण गरेका दर्जनौ साना खानेपानी योजना तथा बोरिङ्गहरु पनि सामान्य मर्मत सम्भार नगरिदाँ बन्द छन् ।

गोलबजार नगरपालिकामा ६५ हजार मानिसको बसोबास रहेकाे छ । यी ओभरहेड ट्यांकी र साना खानेपानी योजनाहरु सञ्चालनमा आउँदा ७ हजार धरधुरी अर्थात ३५ हजार मानिसलाई शुद्ध खानेपानी सुगम तरिकाले उपलब्ध गराउन सकिन्थ्यो । तर करोडौं बजेट खर्चेर पनि खानेपानीको ओभरहेड ट्यांकी सञ्चालनमा नआउनु दु:खद भएको मुक्सार खानेपानी योजनाका अध्यक्ष अमृत बहादुर सिंह ठकुरीले बताउनुभयाे ।

मधेशमा यस वर्ष वर्षात कम हुनु र भूमिगत पानीको सतह भासिदै जानुले पनि खानेपानीको हाहाकार भएको हो । १ सय फिट गहिराईसम्म जडान गरिएका चापाकाल, ४ इन्चको स्यालो बोरिङ्ग र इनारहरु प्राय जसो सुकेका छन् । तालाउ, पोखरी र सिमसारहरु पनि सुकेका छन् ।

खानेपानी बिना मानिस तथा पशुपंक्षीको कण्ठ सुक्दै गएका कारण पनि समस्या समाधानतर्फ सरकार तथा सरोकारवालाले ध्यान दिनुपर्ने देखिन्छ ।