Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


चालकहरुको आन्दोलनका कारण सर्वसाधारण मारमा


0
Shares

बिराज रोस्यारा

कैलाली, असोज ४ । सवारी चालकहरुले गरेको बन्दका कारण कैलाली लगायत प्रदेश नम्बर ७ का सर्वसाधारण मारमा परेका छन् ।

सरकारसँग विभिन्न माग राख्दै सवारी चालकहरु आन्दोलित भएपछि सर्वसाधारण मारमा परेका हुन् । सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै ३ दिनदेखि चालकहरु संघर्षमा उत्रिएका छन् । उनीहरुको आन्दोलनका कारण सर्वसाधारणको जनजीवनसमेत प्रभावित भएको छ ।

चालकहरुको अनिश्चितकालीन बन्दका कारण विभिन्न ठाउँमा मानिस अलपत्र परेका छन् । बन्दका कारण छोटो तथा लामो दुरीका कुनै पनि सवारी साधन चल्न नसकेपछि यात्रुलाई गन्तब्यमा पुग्न निकै सास्ती भईरहेको छ ।

चाडबाडको समयमा गाडी बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् । दशैँका लागि भारतमा रोजगारी गरेर घर फर्किने यात्रु ३ दिनदेखि धनगढी र महेन्द्रनगरमा अलपत्र परेका छन् । आफूहरु ३ दिनदेखि अलपत्र पर्दा समेत सरकारले वास्ता नगरेको डोटीका कर्णबहादुर जेठाराले बताए ।

ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको समितिले सवारी चालकको माग पुरा नभएसम्म यातायात नचलाएर सहयोग गर्न देशभरका सवारी चालकहरुसँग आग्रह गरेको छ । दुर्घटनामा चालकहरुलाई आजीवन काराबास गर्ने र लगायतका निर्णय आफुहरुलाई मान्य नभएकोले आन्दोलनमा गर्नु परेको चालकहरुको भनाइ छ ।

ऐनले सवारी चालकलाई अपराधी बनाएको र जन्मकैदसम्मको फैसला गर्ने ब्यवस्था गरेकोप्रति उनीहरुको असन्तुष्टि छ । दुर्घटना चालकको लापरवाहीले नभई  भईपरि आउने समस्या र प्राविधिक कारण हुने गरेको उनीहरुको भनाइ छ । 

सरकारले तोकेको ५, १२ र २० बर्षको जेल सजाय खारेज नगरेसम्म आन्दोलन जारी रहने चालकहरु बताउँछन् । नयाँ मुलुकी संहितामा सजायको कतिपय व्यवस्थामा विरोध गर्दै यातायात मजदुरहरु हड्तालमा उत्रिए पनि आन्दोलनको जिम्मेवारी औपचारिक रुपमा कसैले पनि अहिलेसम्म लिएको छैन ।

सुदुरपश्चिम यातायात ब्यवसायी संघका अध्यक्ष पदमराज सापकोटाले नेतृत्वविहीन आन्दोलनले कुनै निष्कर्ष नदिने भएकाले बन्दको विकल्प खोज्न चालकहरुलाई आग्रह गरेका छन् ।