
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको केन्द्रयि कमिटीले तयार पारेको दोस्रो विधान महाधिवेशनका लागि प्रस्तावित विधान संशोधन प्रस्ताव ठिक रहेको बताउनुभएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार एमालेका विभिन्न जनवर्गीय संगठन र कमिटीहरुले बुझाएको सुझावलाई ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । महासचिव पोखरेलले पार्टीको नवौं केन्द्रीय कमिटी बैठकले सुझावका लागि मातहतको कमिटीहरुलाई पठाएको सोही प्रस्तावित संशोधन प्रस्ताव सैद्धान्तिक, आधारभूत दुवै रुपमा सही रहेको र त्यसमा सम्बन्धित पक्षले आफूहरुको हितमा केन्द्रित भएर सुझाव दिएको पनि जानकारी दिनुभयो ।
पार्टीका युवा, महिला लगायतका सम्बन्धित वर्ग र समुदायले आफूहरुको हितमा जोड दिएर सोही प्रस्तावित विधान संशोधनका लागि रायहरु आएको समेत उहाँको भनाइ छ । एमालेको सोही विधान महाधिवेशन यहि भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराईज हलमा हुने भएको हो। महाधिवेशनमा प्रतिनिधि र आयोजक गरी कुल २ हजार ३ सय ७८ सहभागी हुने महासचिव पोखरेलले बताउनुभयो ।
त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि ८ वटा उपसमिति बनाएर तयारीको कामलाई तीव्रता दिइएको एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्