१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला


130
Shares

काठमाडौंं ।

हरितालिका तीज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थ पाल्ने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथका चार ढोका बिहान ३ः०० बजेदेखि नै चार ढोका खुला गरिएको कोषका एक सदस्यले जानकारी दिएका छन् ।

चार ढोका खुलेपछि सेवासुविधाका लागि आवश्यकपर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शनमार्गको व्यवस्था एवं सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, भजन कीर्तन, दिपावली, व्रतालुहरुको गौदान गर्ने स्थानको व्यवस्थालगायतका लागि पनि काम भएको उनले बताए।

दर्शनार्थीहरुले छिटो दर्शन गरी फर्कन सक्नेगरी बिहान ३ः०० बजेदेखि नै मन्दिरका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको उनले सुनाए। श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ।

श्रीपशुपतिनाथको दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्रांगणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगंगा वनकाली, गौशाला, जयवागेश्वरीमासमेत वितरणको व्यवस्था मिलाइएको छ। बहुमूल्य गरगहना लगाएर र बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले भक्तजनमा अनुरोध गरेको छ। भगवान् श्रीपशुपतिनाथका नित्य दर्शनार्थीहरु बिहान ५ः३० बजेसम्मका लागि मात्र उपर्युक्तानुसारका चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्नसक्ने व्यवस्था मिलाएको छ ।