Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


छायाँकार शैलेन्द्रध्वज कार्की अब निर्देशक बन्दै, ‘पोखरेली मसिनो’बाट गर्दैछन् डेब्यु


0
Shares

काठमाडौँ ।
कुशल छायाँकार शैलेन्द्रध्वज कार्की अब निर्देशनमा पनि हात हाल्ने भएका छन्। दर्जनौं सफल चलचित्रहरूलाई आफ्ना उत्कृष्ट छायांकनमार्फत् जीवन्त बनाएका कार्कीले अब आफ्नै डेब्यु निर्देशन’ ‘पोखरेली मसिनो’ निर्माण गर्ने घोषणा गरेका छन् ।

सामाजिक कथामा आधारित यस चलचित्रको सोमबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा विधिपूर्वक पूजाआजासहित शुभमुहूर्त गरिएको हो।’ ‘पोखरेली मसिनो’ फिल्म बाबु–छोरीको सम्बन्ध र संघर्षमा केन्द्रित हुनेछ। यस चलचित्रमा शैलेन्द्रध्वज कार्की र उनकी पत्नी, अभिनेत्री शान्ति गिरीले संयुक्त रूपमा निर्देशन गर्नेछन्। फिल्म निर्माणको जिम्मा भने कार्की स्वयंले लिएका छन्।

‘मनसरा’पछि चामलकै अर्को लोकप्रिय प्रजातिको नामबाट प्रेरित भएर ‘पोखरेली मसिनो’ शीर्षक राखिएको चलचित्रको कथा लेखन शान्ति गिरीले गरेकी हुन् भने पटकथा शैलेन्द्र र शान्तिको संयुक्त रहनेछ। शुभमुहूर्त कार्यक्रममा निर्मातारनिर्देशक दीपेन्द्र गौचन, कलाकार टिका पहाडी, परिक्षा लिम्बु, अविरल प्रताप अधिकारी, उपेन्द्र सुब्बा लगायतको उपस्थिति रहेको थियो। फिल्मको छायांकन मंगलबारदेखि पोखरामा प्रारम्भ गरिनेछ र कुल ३० दिनको सुटिङ तालिका तय गरिएको छ।

चलचित्रमा टिका पहाडी, प्रवीण खतिवडा, परिक्षा लिम्बु, माओत्से गुरुङ, अनिल सुब्बा, अंकित खड्का, सजन थापा मगर, अभय बराल, अविरल प्रताप अधिकारी, हिउँवाला गौतमलगायत कलाकारहरूको अभिनय रहनेछ। चलचित्रमा श्रवण मुकारुङको गीत, कालीप्रसाद बास्कोटाको संगीत, शंकर मर्हजनको द्वन्द्व निर्देशन, शैलेन्द्रध्वज कार्कीकै छायांकन, र निमेष श्रेष्ठको सम्पादन रहनेछ। करिब तीन करोड रुपैयाँको लागतमा निर्माण हुने फिल्म आगामी वर्षको बडा दशैंमा प्रदर्शनमा ल्याउने तयारी छ।