
रमेश धमला
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पैसा असुल गरेर नक्कली कागजातका आधारमा नेपाली नागरिकहरुलाई विदेश पठाएको भिजिट भिसा प्रकरणमा अनुसन्धान शुरु गरेको करिब ३ महिना भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ्ल अध्यागमन कार्यालयका तत्कालिन प्रमुख तीर्थ भट्टराईलाई पक्राउ गरेर अनुसन्धान थालेको अख्तियारले विदेश पठाउने एजेण्न्टसहित अध्यागमनकै केही अधिकृतहरुको समेत बयान लिइसकेको जनाएको हो । भट्टराई स्वयंले करिब २ सय २० जनासँग रकम बुझेको तथ्य अख्तियारले फेला पारेको छ ।
गत जेठ ७ गते आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेर तत्कालिन प्रमुख भट्टराईलाई नियन्त्रणमा लियो । भट्टराईको मोबाइल र ल्यापटप सबै जफत गरेर ३ महिनादेखि अनुसन्धान गरिरहेको अख्तियारले महत्वपूर्ण तथ्यहरु संकलन गरिरहेको छ । अख्तियार स्रोतका अनुसार तीर्थ भट्टराईको कार्यकालमा भिजिट भिसामा पठाइएका सबै यात्रुहरुको विवरण परिक्षण भइरहेको छ ।
विशेष गरेर श्रम सम्बन्धि भिसालाई नक्कली पर्यटक बनाएर संयुक्त अरव इमिरेटससहित खाडी मुलुक गएका यात्रुहरुसंग पैसा असुल गरेर पठाइएको आंशका अख्तियारको छ । भट्टराई अध्यागमन कार्यालयको प्रमुख बनेको २०८१ साल असोज २३ गतेदेखि पक्राउ परेको २०८२ साल जेठ ७ गतेसम्मको सबै तथ्याँक अख्तियारले संकलन गरेको छ ।
भट्टराई कार्यरत रहँदाको करिब ८ महिनामा ४१ हजार ६ सय २० जना भिजिट भिसामै युएइको दुबई गएको तथ्यांक फेला परेको छ । जसमध्ये १८ हजार २ सय ७१ जना स्वदेश फर्किए भने २३ हजार ३ सय ४९ जना नफर्किएको अध्यागमनको तथ्यांक छ । भिजिट भिसामा दुबइ जाने अधिकांशसँग श्रम भिसा भए पनि त्यसलाई अध्यागमन कार्यलयका अधिकृतहरुले नै भिजिटमा राखिदिने गरेको अनुसन्धानबाट खुलेको छ ।
भिजिटि भिसाबाट तेस्रो देश जान प्रयोग हुने अर्को रुट थाइल्याण्ड पनि हो । जहाँ भट्टराईको कार्यकालमा गएका २३ हजार १ सय ३६ जना मध्य ४ सय १३ जना फर्किएनन । भट्टराईको कार्यकालमा गएको तथ्यांकमा रहेर अख्तियारले पहिलो चरणको अनुसन्धान गरिरहेको हो । जसमा २ सय २० जनासँग ३० हजारका दरले पैसा असुलेको कारोवार समेत भेटिएको अख्तियार स्रोतले जनाएको छ । थुप्रै व्यक्ति पैसा बुझाएर गएको कारोबारको हिसाब खुलाउने प्रयास पनि भैरहेको छ ।
यसैगरी ग्रिन लाइन ट्राभल पनि अख्तियारको अनुसन्धानमा परेको छ । सोही ट्राभल एजेन्सिका संचालक बालकृष्ण खडेकासंग पनि अख्तिायरले बयान लिइसकेको छ । भट्टराईसहित ४ जनालाई अनुसन्धानको घेरामा राखेको अख्तियारले पहिलो चरणको अनुसन्धान सकेर गृह मन्त्रालयको संलग्नतामाथि अर्को अनुसन्धान गर्ने तयारी गरेको हो । भिजिट भिसामा बुझाइएको रकम अधिकांश दुबइबाटै हुण्डि भएको आशंका रहेकाले उच्च पदाधिकारीहरुको आर्थिक कारोबारको खोजी गर्न समय लाग्ने अख्तियारको अनुमान छ ।
सरकार आफैंले गलत कागजात प्रयोग गरेर भिजिट भिसाका नाममा गएर विदेश गएर नेपालीहरु अलपत्र हुने र श्रम शोषणमा पर्ने घटना रोक्न मापदण्ड बनाएको थियो । त्यहीं मापदण्ड विपरित नक्कली कागजात बनाउनेहरुलाई अध्यागमन कार्यलयका कर्मचारीले असुलीको आडमा विदेश पठाउने गरेको खुलेपछि अनुसन्धान भइरहेको हो ।
गत आइतबार मात्रै अध्यागमन कार्यालयले नै श्रम भिसालाई नक्कली पर्यटक भिसा बनाएको आरोपमा २ जनामहिलालाई पक्राउ गरेर अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्