९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


प्रचण्ड–जनार्दनको द्वन्द छताछुल्ल (भिडियाे रिर्पाेट)


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको विवादले उग्र रुप लिन थालेपछि पार्टी थप संकटमा परेको छ । पार्टी नेतृत्वको रस्साकस्सीका कारण उनीहरु वारपारको अवस्थामा छन् । उनीहरुबीच पार्टीका बैठकमा मात्र होइन, सार्वजनिक कार्यक्रममा समेत वारपारको स्थिति छ ।

राजनीतिक दलभित्र गुट–उपगुट हानिकारक मानिन्छन् । गुट–उपगुट हानिकारक भएपनि नेपालका दलैपिच्छे यसको प्रभाव बढ्दो छ । नेतृत्वमा बस्नेहरु विधि नमान्ने र बाहिर रहेकाहरु नेतृत्वमा पुग्ने लालशा बढेपछि यस्तो जोखिम आउने गरेको छ । यतिबेला नेकपा माओवादी केन्द्र त्यसकै दलदलमा फसेको छ । पार्टीको आन्तरिक गतिविधिका विषयमा पार्टी दुई धारमा विभाजित भएको छ ।

नेकपा माओवादी केन्द्रमा आन्तरिक विवाद सतहमा आएको छ । पार्टी नेतृत्वको शैली, विचार र लोकतान्त्रिक गतिविधिका विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच निरन्तर टकराव बढेको छ । उनीहरुले एकअर्काको खेदो खन्दै प्रस्तुति दिइरहका छन् । पछिल्लो समय पार्टीभित्र विवाद साम्य भएको भनिएपनि उनीहरुको प्रस्तुतिले त्यो देखाएको छैन । पार्टीका विभिन्न बैठकमा मात्र होइन, सार्वजनिक कार्यक्रमबाटै उनीहरु फायर खोलिरहेका छन् ।

पार्टीभित्र पुष्पकमल दाहाल निर्विकल्प ठहरिएका बेला जनार्दन शर्माले त्यसको विकल्प प्रस्तुत गरिरहेका छन् । त्यसैले पनि उनी बारम्बार पार्टी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै आइरहेका छन् । अर्कोतर्फ शर्माको यस्तो गतिविधि दाहाललाई फिटिक्कै मन परेको छैन । उनले पनि शर्मामाथि कडा शब्दमा निरन्तर प्रहार गरिरहेका छन् । पार्टीभित्र यस्तो विवाद चर्किएपनि नेताहरुले त्यसलाइ स्विकार गर्न सकेका छैनन् । उनीहरु पार्टीभित्र विवाद नै नभएको दाबी गर्छन् ।

सबै घट्नाक्रम हेर्दा माओवादी केन्द्र दुई गुटमा विभाजित भएको छ । आफूबाहेक अरुको विकल्प नदेख्ने अध्यक्ष दाहालको प्रवृत्ति र नेतृत्वमा पुग्नेहरुको लालशाले पार्टीको भविष्य संकटतर्फ उन्मुख छ भन्दा फरक नपर्ला ।

विस्तृतमा हेर्नुहोस् यो रिपोर्ट