८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


पशुपति मन्दिर क्षेत्रमा हरितालिका तिजका लागि सम्पूर्ण तयारी पूरा: सदस्यसचिव जाेशी(भिडियाेसहित)


416
Shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर क्षेत्रमा हरितालिका तिज पर्वमा हुने भक्तजनको भीडलाई व्यवस्थित बनाउन विशेष ट्राफिक र पार्किङ व्यवस्था मिलाएको जनाएको छ।

कोषले आइतबार पत्रकार सम्मेलन गर्दै मेला अवधिभरी पशुपति क्षेत्रलाई पूर्णरूपमा सवारी निषेधित क्षेत्र बनाउनको लागि ट्राफिक तथा पार्किङ व्यवस्था मिलाएको हो । सोही सम्मेलनमा बोल्दै कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले उमाकुण्ड, दक्षिणामूर्ति, महास्नानघर पश्चिम, भूवनेश्वरी–गौशाला र वनकाली क्षेत्रको दर्शन मार्गमा कुनै पनि साधारण सवारी प्रवेश गर्न नपाउने व्यवस्था गरिएको जानकारी गराउनुभएको छ ।

दमकल, एम्बुलेन्स र घाटसम्म पुग्ने शव वाहनलाई भने छुट दिइने उहाँको भनाइ थियो । उहाँले यस वर्ष लाखौं महिलाहरु पशुपति नाथको दर्शनका लागि आउने भएकाले आवश्यक सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी परिचालन गरिनुका साथै भीड व्यवस्थापनका लागि स्वयंसेवक, स्काउट र रेडक्रसका टोलीहरु समेत खटाइने बताउनुभयो।

तीजको दिन भक्तजनलाई गुठीटोल, उमाकुण्ड, दक्षिणमुखी, रसगुलोचोक, वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रवेश गराइने र दक्षिण ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । मृगस्थली–जयवागेश्वरी–पशुपति मार्ग हुँदै दक्षिणतर्फ प्रवेश गरी पश्चिमतर्फबाट निस्कने व्यवस्था समेत गरिएको सदस्यसचिव जोशीले बताउनुभएको हो ।

ज्येष्ठ नागरिक, अशक्त, बालबालिका र अपांगता भएका महिलालाई प्राथमिकतामा राखेर सहजीकरण कोषको योजना रहेको कोषले जनाएको छ ।