
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार ओलीसँग उपराष्ट्रपति सुआनले भेटवार्ता गर्नुभएको हो ।भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लाने विषयमा छलफल भएको छ । भेटमा दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै नेताहरुले अनुभव आदान प्रदानका साथै सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको हो ।
भेटमा सहभागी प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले दुई देशबीच सरकार–सरकार, व्यावसाय–व्यवसाय, जनता–जनताका साथै कूटनीतिक र सांस्कृतिक क्षेत्रको सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको बताउनुभएको छ ।
नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शनिबार नेपाल भ्रमणमा आउनुभएको थियो । उपराष्ट्रपति सुआन उच्चस्तरीय नेपाल भ्रमण सम्पन्न गरेर ९ गते स्वदेश फर्किने कार्य तालिका रहेको छ।
प्रतिक्रिया दिनुहोस्